भक्तपुरलाई आत्मनिर्भर नगरको रुपमा विकास गर्ने लक्ष्यका साथ महोत्सव हुने
- मंसिर ५, २०८१
भक्तपुर, २८ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म पाँचदिन हुने भक्तपुर महोत्सवको प्रचारार्थ पत्रकार सम्मेलन बुधबार नगरपालिकाको सभाहलमा सम्पन्न भयो । पत्रकार सम्मेलनमा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवं नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादनलगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको बताउनुभयो ।
उहाँले पर्यटन उद्योगमार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
उहाँले भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउँदै भक्तपुर पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास हुँदै आएकोमा महोत्सवले थप यसको विकासमा सहयोग मिल्ने छ, भन्नुभयो । उहाँले भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरि व्यवसायीकरणको लागि महोत्सवले भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं भक्तपुर महोत्सवका अतिथि सत्कार समितिका संयोजक रजनी जोशीले पूर्खाले सिर्जेका अमूल्य सम्पदाहरुकोे सरंक्षण, प्रवद्र्धन र सदुपयोग गरी भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पारिरहेको बताउँदै महोत्सवलाई भक्तपुरका गतिविधिहरु प्रदर्शन गर्ने अवसरको रुपमा सञ्चालन गरिने बताउनुभयो । उहाँले सिंगो नगरलाई उत्सवमय बनाउन सञ्चारमाध्यमले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले आजबाट विधिवत रुपमा भक्तपुर महोत्सव सचिवालयको काम थालनी हुने बताउँदै महोत्सवमा ३२ वटा विधा ८० स्थानमा महोत्सव सञ्चालन हुने उल्लेख गर्नुभयो । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न रु. १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको र महोत्सवबाट रु.६० लाख आम्दानी हुने अनुमान आयोजक समितिले गरेको छ ।
Leave a Reply