भर्खरै :
सरकारी जग्गा र पोखरी संरक्षण गर्न भक्तपुरका प्रजिअको ध्यानाकर्षण | माओ कसरी क्रान्तिकारी बन्नुभयो ? | बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न | भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु |

“कामदार जनताले समाजवाद स्थापनाको निम्ति सङ्घर्ष गरिरहनुपर्छ”

  • कार्तिक २४, २०८१

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘अक्टोबर क्रान्ति र यसको महत्व’ पुस्तकको बिहीबार एक समारोहबिच सार्वजनिकीकरण भयो ।

उक्त कार्यक्रममा पुस्तकको सार्वजनिकीकरण गर्दै नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले समाजवाद स्थापना नभएसम्म कामदार या मजदुर वर्गको हित नहुने स्पष्ट पार्दै कामदार जनताले समाजवाद स्थापनाको निम्ति सङ्घर्ष गरिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

देशका पुँजीपति र शोषकवर्गले युवाहरूमा कम्युनिस्ट प्रभाव पर्छ र कम्युनिस्ट आन्दोलन अघि बढ्छ भनेरै युवाहरूलाई नियोजितरूपले विदेश पठाउने जाल बुनिरहेको अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो ।

राजनीतिक दल, दलका नेता कार्यकर्ताहरूले वर्गीय शत्रु र मित्र चिन्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले समाजवादमा योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको व्यवस्था हुने उल्लेख गर्नुभयो ।

देशका सबै जनतालाई काम मामको सुनिश्चितता गर्न नसकेसम्म निजी व्यक्ति र संस्थाले काम गरिरहने विचार व्यक्त गर्दै उहाँले जनताको समस्या बुझेरै विभिन्न सहकारी, स्कूल र कलेज स्थापना भएको स्पष्ट पार्नुभयो ।

वर्गीय हिसाबले पुँजीपति, सामन्त र शोषकवर्गले श्रमजीवी जनताको हित नगर्ने उल्लेख गर्दै उहाँले कम्युनिस्ट भन्ने नेता, कार्यकर्ता र शुभचिन्तकहरूले पदको दुरूपयोग गरी सेवाभाव छोडेर अनियमित काम गर्न नहुनेतर्फ सचेत पार्नुभयो ।

नक्कली कम्युनिस्टहरूदेखि सावधान हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “हरेक कम्युनिस्ट नेता र कार्यकर्ताले समाजवादी विचार अँगाल्नुपर्छ । सिद्धान्तको साथै व्यवहारको ख्याल गर्नुपर्छ । काम गर्दा कमीकमजोरी हुनसक्छ तर नियत खराब हुनुहुँदैन । कार्यकर्ताहरू लोभलालचमा फस्नुहुँदैन । नेता कार्यकर्ताहरूलाई बिगार्न आर्थिक लोभ देखाउँछ । सङ्गठन छोड्छ भनेर गलत र आपराधिक कामलाई समर्थन दिनु हुँदैन । प्रकाशित पुराना र नयाँ नयाँ पुस्तकहरू अध्ययन र अन्तरक्रिया गर्नुपर्छ ।”

स्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशीले कठिनपूर्वक सङ्घर्ष गरेर अक्टोबर क्रान्ति सफल भएको उल्लेख गर्दै क्रान्तिपछि हरेक क्षेत्रमा तीव्र विकास भएको चर्चा गर्नुभयो ।

कामदार जनताको निम्ति समाजवाद स्वर्ग भन्ने कुरा सोभियत सङ्घले उद्योग, शिक्षा, स्वास्थ्य सेवामा विकास गरेर कामको सुनिश्चितता गरेको उल्लेख गर्दै उहाँले स्तालिनले विश्वलाई बचाउने काम गरेको बताउनुभयो ।

समाजवादी क्रान्तिको निम्ति जनसङ्घर्ष आवश्यक भएको उल्लेख गर्दै उहाँले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार लत्याएर शान्तिपूर्ण आन्दोलन गर्ने संशोधनवादीहरूले समाजवाद स्थापना गर्दैनन् भन्नुभयो ।

साम्राज्यवादी देश अमेरिकाले नाटोको सङ्गठन विस्तार गरेर विश्वलाई आतङ्कित पारिरहेको पनि उहाँले चर्चा गर्नुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले सार्वजनिकीकरण गरिएको पुस्तक मजदुर र किसानले पढ्न मिल्ने बौद्धिक खुराक भएको उल्लेख गर्दै देश देश जुधाएर संहार गर्ने काम साम्राज्यवादी देशले गरिरहेको बताउनुभयो ।

अमेरिकी हतियार र सेनाको सहयोगमा इजरायलले प्यालेस्टिनमा जातीय नरसंहार गरिरहेको कार्यको निन्दा गर्दै उहाँले सोभियत सङ्घमा समाजवादको अस्थायी हार भएको बताउनुभयो ।

“सोभियत नेतृत्वमा देखिएको सैद्धान्तिक विचलन, संशोधनवाद र नेतृत्व पक्ष पुँजीपतिवर्ग र साम्राज्यवादको लहैलहैमा जाँदा समाजवादको अस्थायी हार भएको हो”, उहाँले भन्नुभयो ।

उदारवादको विरोधमा संसारमा मजदुर र किसानहरूले सङ्घर्ष गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “पुँजीपति र प्रतिक्रियावादीहरू कामदार जनतालाई उठाउन चाहँदैनन् । सिद्धान्तबाट विचलित बनाउने कुचेष्टा गर्छन् । सच्चा कम्युनिस्टहरू क्रान्तिको सेवा गर्न अघि बढ्छन् ।”
नेमकिपाका अर्का केन्द्रीय सदस्य सृजना सैँजुले क्रान्तिको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति मिल्नुपर्ने आवश्यकता औँल्याउँदै एउटै देशमा पनि क्रान्ति सम्भव छ भन्ने कुरा सोभियत सङ्घले देखाएको छ भन्नुभयो ।

क्रान्ति या आमूल परिवर्तनको निम्ति वर्गसमन्वय होइन वर्गसङ्घर्ष नै गर्नुपर्नेमा जोड दिँदै उहाँले साम्राज्यवादी देश अमेरिकाले प्रजातन्त्र र स्वतन्त्रताको नारा दिएर विश्वका विभिन्न स्वाधीन र सार्वभौम देशहरूमा आफ्नो प्रभुत्व कायम गर्ने, आक्रमण गर्ने र थिचोमिचो गरिरहने बताउनुभयो ।

समाजवादी क्रान्तिले न्याय र समानता पाउने चर्चा गर्दै उहाँले शोषितपीडित जनताको हित समाजवादी व्यवस्थामा मात्र हुन्छ भन्नुभयो ।
नेपालमा पनि कामदार जनताको शासन ल्याउन समाजवादी आन्दोलन आवश्यक छ, उहाँले भन्नुभयो ।

नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले क्रान्ति छिट्टै नहुने उल्लेख गर्दै कति कम्युनिस्ट भन्नेहरूले भित्रभित्रबाटै पुँजीपतिवर्गकै सेवा गरिरहेको बताउनुभयो ।

उहाँले क्रान्ति गर्न क्रान्तिकारी पार्टी आवश्यक छ भन्नुभयो ।
इन्जिनियर राजेन्द्र श्रेष्ठले आजकै दिनमा लेनिनको नेतृत्वमा सङ्गठित मजदुर र किसानहरूले पुँजीवादी सत्ता फालेर सोभियत सत्ता स्थापना गरेको बताउनुभयो ।

नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय कोषाध्यक्ष विष्णुराम दुमरुको सभापतित्वमा भएको सो कार्यक्रममा रमेश दुमरुले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभयो ।

कार्यक्रममा नेक्रामसङ्घका पुण्यराम न्हुछेले स्वागत गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *