भर्खरै :
ख्वप अस्पताल सञ्चालन चौथो वर्षमा प्रवेश | जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए |

सहकारी धनीवर्गको लागि नभई न्यून आय भएका वर्गको उत्थानको लागि हुनुपर्ने

  • मंसिर १२, २०८०

भक्तपुर, १० मङ्सिर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. भक्तपुरको १९ औँं वार्षिक साधारणसभा सम्पन्न भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सभाको उद्घाट्न गर्दै राज्य सङ्घीयतामा गइसकेपछि केन्द्रीकृत नियम लाद्न नहुने विचार व्यक्त गर्नुभयो । सहकारी संस्था वित्तीय बैङ्कभन्दा पृथक हुुनुपर्नेमा जोड दिँदै उहाँले सहकारी धनीवर्गलाई होइन, न्यून आय भएका वर्गको उत्थानको लागि हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारीमा नाफा घाटाको भन्दा पनि सदस्यको जीवन परिवर्तनको लागि कार्य गर्नुपर्छ । यसको लागि सहकारीले उत्पादनमूलक उद्योग, कृषि, उपभोक्ता पसल, रोजगारी सिर्जनालगायतको क्षेत्रमा ध्यान दिनुपर्छ ।”

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सदस्य टेकप्रसाद चौलागाईले सदस्यले संस्था र संस्थाले सदस्यलाई चिन्न नसक्दा हालको समस्या सिर्जना भएको बताउँदै सङ्घ संस्थालाई बलियो बनाउन सहकारी लाग्नुपर्ने बताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष परितोष पौड्यालले सहकारीका योगदानहरू संस्थागत हुन नसक्दा सहकारी अभियानका एजेन्डाहरू छायामा परेको बताउनुभयो ।

सहकारीको दिशा स्पष्ट हुँदाहुँदै पनि भ्रमित गर्ने कार्य भइरहेको उल्लेख गर्दै उहाँले सहकारीको बचत सुरक्षा गर्न, अभियानलाई बचाउन स्थिरीकरण कोषको आवश्यकता औँल्याउनुभयो ।

वाग्मती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष उद्धवप्रसाद सापकोटाले सहकारीमा देखिएको समस्या तुलनात्मकरूपमा भक्तपुरमा कम रहेको र सङ्घले सदस्य संस्थालाई सुशासनमा राख्न सक्षम रहेको बताउनुभयो । उहाँले सहकारी संस्थाका समस्या समाधान गर्न अनुगमनलाई जोड दिनुपर्ने विचार राख्नुभयो ।

सङ्घका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले सङ्घले सहकारी संस्थामा देखिएका विकृतिहरूको दीर्घकालीन समाधानका लागि सङ्घहरू लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सभाको सभापतित्व गर्दै सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीमा लोभी बचतकर्ता, कमजोर नियमन र कमजोर सहकारी अभियानका कारण सहकारी क्षेत्रमा सङ्कट देखिएको बताउनुभयो । उहाँले सङ्घले सहकारीको सिद्धान्त, ऐन नियम र आफ्नै विनियम पालनाको अवस्था अनुगमन गरेरमात्र सदस्यता प्रदान गरे अभियान शुद्धीकरण हुने बताउनुभयो ।

सङ्घका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य दिँदै सहकारीमा सुशासनको पालना हुनुपर्ने विचार राख्नुभयो ।

सङ्घका सचिव जगनाथ प्रजापतिले सङ्घको आ.व. २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांश प्रस्ताव र संरक्षित पुजी फिर्ता दिने प्रस्ताव पेस गर्नुभयो ।

सङ्घका कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व. २०७९/८० को वित्तीय प्रगति प्रतिवेदन पेस गर्नुभयो । सभाबाट आ.व.२०७९/८० मा २ अर्ब २२ करोड ७४ लाख ३९ हजारको वासलात र ३ करोड ४० लाख ५३ हजारको नाफासहितको लेखापरीक्षण प्रतिवेदन पारित गरियो । साथै आगामी आ.व.२०८०/८१ मा सङ्घको वासलात २ अर्ब ४५ करोड ५ लाखको बजेट पारित गरियो ।

सङ्घका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले आ.व.२०७९÷८० को लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

उक्त सभामा संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको आधारमा अधिकत्तम योगदान गर्ने बचतमा उपकार बचत तथा ऋण सहकारी संस्था लि., सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. र ऋणमा बङ्गलामुखी बचत तथा ऋण सहकारी संस्था लि., संगम बचत तथा ऋण सहकारी संस्था लि. र अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि. गरी तीन तीन वटा संस्थालाई संरक्षित पुँजी फिर्ता रकमसहित प्रशंसापत्र वितरण गरियो । सभामा सङ्घका सञ्चालक काजीबहादुर पञ्चले पनि बोल्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *