भर्खरै :
भक्तपुर नपालाई टेष्ट ट्युबको रुपमा प्रयोग गरी हेर्नुपर्ने– अध्यक्ष बिजुक्छेँ | अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन | भनपामा टेबुल टेनिस कभर्ड हल उद्घाटन | भक्तपुर नपाका प्रमुख प्रजापति र जापानको ओइजुमी नगरका प्रमुख तोसिआकीबीच भेट | नर्सिङ दिवसको अवसरमा शुभकामना कार्यक्रम | ३४६ वर्ष पुरानो थन्थु दरबार शिलान्यास | सुर्ती नियन्त्रणमा युवा सृजनशील सक्रिय हुँदै | खुल्ला गुँला बाजा प्रतियोगिता सम्पन्नः क्वनेया गुँला बाजँ सञ्चालन तथा व्यवस्थापन समिति प्रथम | अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास | ख्वप अस्पताल सञ्चालन चौथो वर्षमा प्रवेश |

ख्वप अस्पताल सञ्चालन चौथो वर्षमा प्रवेश

  • बैशाख १८, २०८१

भक्तपुर, १८ बैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले चिकित्सकहरुले संसारका राम्रा राम्रा डाक्टरहरुको योगदानबाट सिक्दै जनताको सेवाभावले काम गर्न प्रेरित गर्नुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल सञ्चालनको चौथो वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले ख्वप अस्पताल नगर अस्पतालको रुपमा सञ्चालन भए पनि देशभरिका नागरिकहरुलाई राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो ।

चिकित्सकहरुले आफ्नो पेशागत जिम्मेवारी सँगसँगै समाज र देशको हितमा काम गर्नुपर्छ भन्दै उहाँले चिकित्सकहरुले बिरामीहरुसँग मित्रवत व्यवहार र जनताले बुझ्ने भाषामा सेवा दिनुपर्छ भन्नुभयो ।

उहाँले नेपालका दक्ष जनशक्ति विदेश पठाउने दलाली काम सरकारी संयन्त्रबाटै भइरहेको बताउँदै युवा पुस्ता दक्ष र इमानदार भए जुनसुकै क्षेत्रमा इमानदारीपूर्वक काम गर्छन् भन्नुभयो ।

महँगो विद्यालयले मात्र राम्रो शिक्षा दिने कुरा गलत भएको बताउँदै नयाँ पुस्तालाई युग सुहाउँदो र दक्ष बनाउन विद्यालयको जग बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई भाषा र असर संस्कार विद्यालयस्तरबाट सिकाउन सके समाजलाई सभ्य र सुसंस्कृति बनाउन मद्दत पुर्याउने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०३० सालमा जनस्वास्थ्य सेवा केन्द्रको रुपमा सञ्चालन भई हाल १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गर्दा धेरै आरोह अवरोहहरु पार गरिसकेको स्मरण गर्दै अस्पतालले जनताको निःस्वार्थपूर्वक सेवा गर्ने उद्देश्यले काम गर्दै आइरहेको बताउनुभो ।
उहाँले ख्वप अस्पतालप्रति जनताको आस्था र विश्वास भएकै कारण अस्पतालले गुणस्तरीय सेवा प्रवाह गर्न सफल भएको बताउँदै भक्तपुर नपामा स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन हुँदा बिरामीहरुले सहज र सुलभ रुपमा सेवा पाइरहेको बताउनुभयो ।

चिकित्सक अभावका कारण अस्पतालहरुले राम्रोसँग सेवा दिन नसकिरहेको वर्तमान अवस्थामा स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रका जनशक्तिलाई नेपालमै बसेर काम गर्ने अवसरहरु सरकारले सिर्जना गर्नुपर्छ भन्नुभयो ।

बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले ख्वप अस्पताल भक्तपुरको स्वास्थ्य क्षेत्र विकासमा उल्लखनीय इतिहास बोकेको अस्पताल भएको बताउँदै जनताको सेवा गर्ने भावनाले काम गर्न सके जनगुनासो कम हुँदै जाने बताउनुभयो ।

उहाँले अस्पतालले भौतिक संरचना, गुणस्तरीय मेडिकल सेवा सँगसँगै युग सुहाउँदो जनशक्ति व्यवस्थापनतर्फ पनि जोड दिनुपर्ने बताउँदै अखाद्य वस्तुको उपभोगले जनस्वास्थ्य नकारात्मक असर पुगिसकेकोतर्फ सबै सजग हुनुपर्ने बताउनुभयो । दक्ष जनशक्तिको परिचालनमा राज्य नै जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने बताउँदै उहाँले नसर्ने रोगको जोखिमलाई कम गर्न जनचेतनाको आवश्यकता रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकका उपप्रमुख रजनी जोशीले स्वास्थ्य संस्था संवेदनशील क्षेत्र भएको हुँदा त्यहाँका कार्यरत चिकित्सक तथा कर्मचारीहरुले सावधानीपूर्वक काम गर्नुपर्ने बताउँदै स्वास्थ्य सेवामा आबद्ध जनशक्तिहरुले सामाजिक दायित्व निर्वाह गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले अस्पतालबाट प्रवाह हुने सेवा सुविधाहरु प्रविधिमैत्री हुनुपर्ने र नयाँ कार्यशैली अपनाउँदै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल, इन्टरनल मेडिसिन डा. अमर प्रजापति र डा. रत्न सुन्दर लासिवाले ख्वप अस्पताल सञ्चालनको इतिहास, उद्देश्य र अस्पतालबाट प्रवाहित सेवासुविधाबारे अवगत गराउनुभयो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *