भर्खरै :
ख्वप अस्पताल सञ्चालन चौथो वर्षमा प्रवेश | जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए |

बोलिभियामा समाजवादी सरकार

  • कार्तिक ११, २०७७

दक्षिण अमेरिकी देश बोलिभियामा हालै सम्पन्न निर्वाचनमा त्यहाँको समाजवादी मास पार्टीलाई जनताले भारी बहुमत दिएका छन् । ५५.१ प्रतिशतभन्दा बढी मत हासिल गरेर लुइस अर्के काताकारो राष्ट्रपति बनेका छन् । बोलिभियाली सिनेट र प्रतिनिधिसभामा पनि सोही दलले बहुमत प्राप्त गरेको छ । मास पार्टीको विजयले एक वर्षअघि सन् २०१९ को अक्टोबर २० मा भएको निर्वाचनमा राष्ट्रपति पदमा चौथोँ पटक निर्वाचित सोही दलका नेता इभो मोरालेसमाथि लगाइएको धाँधलीको आरोप झूठा पुष्टि भएको छ । चौथोँ पटक पनि मोरालेस निर्वाचित भएपछि बोलिभियामा मास पक्षधर र विपक्षी राजनीतिक शक्तिबीच द्वन्द्व चर्केको थियो । ।राजनीतिक शक्तिबीचको द्वन्द्वले बोलिभियाली जनता रक्तपातमा फस्न सक्ने संवेदनशीलतालाई ध्यान राखी उनले पदबाट राजीनामा दिई मेक्सिकोमा राजनीतिक शरण लिएका थिए । तर, अन्तरिम सरकारले बोलिभियाली जनताको कति पनि मन जित्न सकेन । त्यसको परिणाम अहिलेको निर्वाचनमा देखिएको छ । जनता मोरालेसकै समाजवादी दलको पक्षमा कटिबद्ध भएर उभिएका छन् । बोलिभियामा चुनावी बहुमतमार्फत बनेको समाजवादी सरकारले ल्याटिन अमेरिकामा समाजवादको ध्वजा बनी उदाएका देशलाई एक एक गरी सिध्याउने साम्राज्यवादी चाहना तुहिएको छ । जनताको मन जितेरभन्दा पनि षड्यन्त्र, झूठा प्रचारबाजी र हिंसा प्रयोग गरेर राज्य सत्ता हातमा पार्न पोख्त साम्राज्यवादी शक्तिहरु जनताको मतसामु पराजित बनेका छन् ।

इभो मोरालेस सरकारमा लामो समय अर्थमन्त्री भई काम गरेका नयाँ राष्ट्रपति काताकारोले समाजवादी कार्यक्रमलाई अझ निरन्तरता दिने अपेक्षा गरिएको छ । समाजवादी कार्यक्रमले नै बोलिभियाली प्राकृतिक स्रोतसाधनमाथि बोलिभियाली जनताकै स्वामित्व स्थापितमात्र भएको छैन, बरु बोलिभियाली जनताको जीवनस्तर र आर्थिक अवस्थामा समेत सुधार भएको छ । समाजवादी देश क्युवा, भेनेजुलालगायत देशहरुसँग नजिकबाट सहकार्य गरेका मोरालेसले खनेको बाटोलाई पूर्णता दिने नयाँ सरकार सफल हुनेमा आशा गर्न सकिन्छ । मोरालेसका तीन कार्यकालमा बोलिभियाले अन्तराष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तन, प्राकृतिक स्रोतमाथि पुँजीवादी दोहन र त्यसले पारेका प्रभावजस्ता गम्भीर विषय उन्थान गरेको थियो । साम्राज्यवादी शक्तिसँग लड्न ल्याटिन एवम् क्यारिबियाली देशहरुको संयुक्त गठबन्धनजस्तै अल्बा स्थापनामा पनि बोलिभियाको समाजवादी दलको अहम् भूमिका छ ।

सन् २००५ देखि २०१९ सम्म राष्ट्रपति बनेका मोरेलेसले बोलिभियाको आर्थिक अवस्थामा ठूलो सुधार ल्याउन सम्भव बनाए । त्यहाँको गरिबी दर घटाउनुका साथै उत्पादनशीलता पनि विस्तार गरे । समाजवादी सरकारले आदिवासीहरुको आर्थिक अधिकारलाई विशेष प्राथमिकता दिएको थियो । मोरालेस आफै पनि आदिवासी समुदायबाट भएकाले उनले आदिवासी जनताले भोगेका समस्या अझ नजिकबाट बुझेका थिए । जनतासँग अन्तरक्रिया र भेटघाटमा समय व्यतीत गर्न खुसी मान्ने मोरालेसलाई पछिल्लो निर्वाचनको नतिजाले जनप्रिय प्रमाणित गरेको छ ।

अगाडिका बाटा निःसन्देह चुनौतीपूर्ण छ । तर, बोलिभियामा समाजवादी दलको सफलताले त्यहाँको राजनीतिक नेतृत्वलाई अझ बलियो बनाएको छ र ल्याटिन अमेरिकी समाजवादीहरुमा नयाँ ऊर्जा विस्तार भएको छ । यही बेला भेनेजुयलामाथि माडुरो सरकार अपदस्थ गर्ने साम्राज्यवादी प्रयास असफल भयो भने चिलीमा अनुदार तानाशाही अगस्टो पिनोचेले बनाएको प्रतिक्रियावादी संविधान जनताले चुनावबाट च्यातचुत बनाएका छन् । यसलाई साम्राज्यवादविरोधी आन्दोलनका नयाँ उपलब्धि मान्न उचित हुन्छ ।

स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *