भर्खरै :
ख्वप अस्पताल सञ्चालन चौथो वर्षमा प्रवेश | जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए |

महमुद दर्विसका कविताहरू

  • पुष २६, २०८०

महमुद दर्विस सन् १९४१ मा प्यालेस्टिनी गाउँ बार्बामा जन्मेका थिए । उनी ६ वर्षको छँदा यहुदी जातिवादी सेनाले उनका बुबाको हत्या गरे । त्यस सेनाबाट भाग्दै जैतुनको जङ्गल, पहाड र चट्टान पार गर्दै उनी लेबनन पुगे । सन् १९४८ को आमसंहार ‘नक्बा’ मा इजरायली सेनाले गरेको ती विभत्स अत्याचारहरू उनको स्मृतिबाट कहिल्यै मेटिएन । लेबननमा दर्विस साहित्य र राजनीतिमा सक्रिय रहे । १९ वर्षको उमेरमा उनको पहिलो कवितासङ्ग्रह ‘पङ्खविहीन पन्छी’ प्रकाशित भयो । राजनीतिक सक्रियताका कारण दर्विसलाई घरमै नजरबन्दमा राखियो र पटकपटक जेल चलान गरियो । उनलाई सार्वजनिकरूपमा कविता वाचन गरेको ‘कसुर’ मा दण्डित गरिएको थियो । ओस्लो सम्झौतालाई ‘जोखिमपूर्ण’ भनेर पीएलओबाट राजीनामा दिएका दर्विसको निधन सन् २००८ मा ६७ वर्षको उमेरमा अमेरिकामा भयो ।

१. हताहत घर
एकै सासमा स्वाहा भयो
घरको जीवन
मान्छेविहीन नै किन नहोस्
घरहत्या सामूहिक हत्या हो ।
सामूहिक चिहान हो
थुप्रै वस्तुको
एक अर्थपूर्ण संरचना निर्माण गर्ने
एक–एक वस्तुको
अथवा युद्धको बेला अर्थहीन देखिने
एउटा कविताको ।
घर हताहत हुनु
एक–एक वस्तु छरपस्टिनु हो
तिनको सम्बन्ध र भावुकता भत्किनु हो
वस्तुको जीवनतिर फर्केर
शोक मनाउने खाँचो खज्मजिनु हो ।
हरेक वस्तुमा एउटा अस्तित्व रुन्छ
औँलाको स्मृति,
बास्नाको स्मृति,
एक आकृतिको स्मृति रुन्छ ।
बासिन्दाहरूजस्तै बस्तीका घरहरू मारिए ।
वस्तुका स्मृतिहरू मारिए :
सजीव प्राणीजस्तै
धुजाधुजा भई छरपस्ट भए
ढुङ्गा, रुख, सिसा, फलाम, सिमेन्टहरू ।
प्रतिबन्धित शब्दजस्तै टुक्राटुक्रा भए
कपास, रेसम, लाइनन, कागज र किताबहरू ।
आफ्ना मालिकजस्तै ध्वस्त भए
थाल, चम्चा, खेलौना, क्यासेट, पाइपहरू
ढोका, फ्रिज, वासिङ मेसिन, फूलदानीहरू
जैतुन–अचारका भाँडा र साँधिराखेका खानेकुरा
आफ्ना मालिकजस्तै थिचिए
नुन, चिनी, मसला, सलाइका बट्टा, औषधिहरू
लसुन, प्याज, गोलभेँडा, चिप्लेभेन्डीका सिम्टाहरू
चामल र सागसब्जीहरू ।
मालिकका मुटुजस्तै छियाछिया भए
घरभाडाका करारपत्रहरू
बिहेदर्ता, जन्मदर्ताका कागजपत्रहरू
पानी–बिजुलीका बिल, परिचयपत्र र पासपोर्टहरू
छियाछिया भए प्रेमपत्रहरू ।
विध्वंशमा परेर पारिवारिक गोप्यता
चर्कोचर्को स्वरमा प्रसारण भएजस्तै
चारै दिशामा उडे
फोटो, टुथब्रस, काइँयो, क्रिम–पाउडरहरू
जुत्ता, कच्छी–गन्जी र गम्छाहरू ।
यी सबथोक मान्छेका स्मृतिहरू हुन्
जोसित अब ती वस्तु छैनन् ।
यी सबथोक वस्तुका स्मृतिहरू हुन्
जोसित अब ती मान्छे छैनन् ।
एकै पलमा सोत्तर भए सब ।
हाम्रा चीजबीज मर्छन् हामीजस्तै
तर गाडिन्न तिनलाई हामीसँगै ।

२. पहिचानपत्र
ढड्डामा लेख
म अरबी हुँ
पहिचानपत्र नम्बर लेख पचास हजार
आठ सन्तान छन्
र यो गर्मीयाममा नवौँ जन्मिँदै छ
यसमा रिसाउनुपर्ने के नै छ ?

ढड्डामा लेख
अरबी हुँ
दुःखका सहयात्रीसँगै खदानमा धसिँदै छु
आठ सन्तान छन् ।
चट्टानबाट तिनको लागि
आहार जुटाउँछु
लुगाफाटो र किताब–कापी जुटाउँछु ।
हात थाप्न तिम्रो ढोका ढक्ढकाउँदिन
तिम्रो दैलोमा घुँडा टेक्दिन
यसमा रिसाउनुपर्ने के नै छ ?

ढड्डामा लेख
अरबी हुँ
पहिचानरहित नाम हुँ
आक्रोशित देशमा मनुवा शान्त हुँ ।
मेरा जराहरू
गाडिएका हुन् मेरो जन्मअघि
युगको आरम्भअघि
धुपी र जैतुनका रुख उम्रिनुअघि
दुबो फैलिनुअघि ।

हली हुन् मेरा बा
कुल–घरानियाँ होइनन् ।
वंशावलीविहीन मेरा बाजे
थिए किसान
लेखपढ सिकाउनुअघि मलाई
सिकाउँथे घामको महिमा ।
मेरो घर छ पहरेदारको छाप्रोजस्तो
नर्कट र थाँक्राथाँक्रीले बनेको ।
मेरो स्तर सुनेर ढुक्क भयौ ?
थर गोत्रबिनाको नाम हुँ म ।

ढड्डामा लेख
अरबी हुँ
गाढा कालो छ कपाल
आँखा खैरो
पाटा परेको केफिया लगाउँछु ।
एक विस्मृत, विकट गाउँमा बस्छु,
बाटोघाटो नामहीन छन्
गाउँलेजति खेत र खदानमा बस्छन् ।
यसमा रिसाउनुपर्ने के नै छ ?

ढड्डामा लेख
अरबी हुँ
तिमीले चो¥यौ मेरा बाबुबाजेको बारी
मैले, मेरा छोराछोरीले जोत्ने बारी
गेग्रानबाहेक तिमीले
केही पनि बाँकी राखेनौ
भनेको सुनेको
के सरकारले त्यो पनि लग्ने हो ?

ढड्डामा लेख
पहिलो पानामा सिरानमै लेख
घृणा गर्दिन म कसैलाई
कसैको धनसम्पत्ति हडप्दिन
तर भोकै बस्नुपरे
मलाई हडप्नेहरूकै मासु खानेछु
चेत खाऊ,
मेरो भोकसँग डराऊ !
मेरो आक्रोशसँग डराऊ !

३. मान्छे
तिनीहरूले उसको मुखमा पट्टी बाँधे
दुवै हात चिहानको ढुङ्गामा बाँधे
अनि भने – हत्यारा !

तिनले उसको खाना, लुगा र झन्डा खोसे
उसलाई कालकोठरीमा थुने
अनि भने – चोर !

तिनले उसलाई नाका–नाकामा धपाए
उसको कलिलो मन खोसे
अनि भने – शरणार्थी !

ए रक्तपिपासु आँखा
र रगताम्य हातसितको मान्छे
औँसीको रात छोटो छ
यातनागृह सधैँ टिक्दैन
न हत्कडीको कडी टिकाउ छ
निरो म¥यो, रोम रहिरह्यो ।
आँखै आँखाले ऊ जुध्छे
चाउरिएका कानबाट बाली लगाउँछे
पूरै उपत्यका हराभरा हुनेछ गहुँले ।

४. सिकारी हुन्थेँ भने
सिकारी हुन्थेँ भने
मृगलाई म
एउटा मौका दिने थिएँ
अर्को मौका दिने थिएँ,
तेस्रो मौका दिने थिएँ…
दसौँ मौका दिने थिएँ,
दर्जनौँ मौका दिने थिएँ ।
सिकारको भागमा म
आफ्नो लागि लिने थिएँ
एकसरो शान्ति
निद्रालु मृगको शिरमुनि ।
जित्ने शक्ति छ ममा
तर त्यसलाई म त्याग्छु
र बन्छु पवित्र
पानीजस्तै पवित्र
जहाँ आएर उसले
पानी पिउन सकोस् ।
सिकारी हुन्थेँ भने
मृगसँग म
भाइचारा गाँस्ने थिएँ,
भन्ने थिएँ :
“राइफलसँग नडराऊ,
कठै बहिनी, यो केही होइन ।”
अनि निर्भय भई मिलेर
सुन्ने थियौँ हामी
टाढा खेतमा कुर्लिरहेको
ब्वाँसोको हुङ्कार ।

५. अरूको बारेमा सोच
बिहानी खाजा बनाउँदै गर्दा,
अरूको बारेमा सोच
(परेवालाई चारा हाल्न नबिर्स)
युद्ध गरिरहँदा,
अरूको बारेमा सोच
(शान्ति खोजिरहेकाहरूलाई नबिर्स)
पानीको महसुल तिर्दै गर्दा,
अरूको बारेमा सोच
(बादलको रेखदेखमा बस्नेहरूलाई सम्झ)
आफ्नो घर फर्किँदै गर्दा,
अरूको बारेमा सोच
(शिविरमा बसिरहेकाहरूलाई नबिर्स)
सुत्ने बेला जब ताराहरू गन्छौ,
अरूको बारेमा सोच
(सुत्ने ठाउँ नै नभएकाहरूलाई सम्झ)
बिम्बमा कुरा गरिरहेका बेला,
अरूको बारेमा सोच
(बोल्ने अधिकार गुमाएकाहरूलाई सम्झ)
टाढाटाढाका मानिसबारे सोचिरहँदा,
आफ्नो बारेमा सोच
(भन : म अन्धकार हर्ने दियो हुँदो हुँ त !)

– दर्विसका विभिन्न कविता सङ्ग्रहहरूबाट
उल्था : सुरेश

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *