भर्खरै :

लोकेश्वर साकोसको स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पुष १६, २०८०

भक्तपुर, पुस । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९औं स्थापना दिवसको अवसरमा सहकारीमा देखिएका वित्तिय अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम भनपा साविक १५ वडाका पूर्व अध्यक्ष एवं संस्थाका संस्थापक रविन्द्र खर्बुजाको आतिथ्यतामा सम्पन्न भयो ।

अतिथि खर्बुजाले सहकारीले आर्थिक क्रान्तिसँगै समाजमा वित्तिय साक्षारता पनि अगाडी बढाउदै लानुपर्ने बताउनुभयो । विभिन्न समाजवादी देशहरुले आर्थिक क्रान्तिको जग सहकारी मार्फत बसालेको चर्चा गर्दै नेपालको परिवेशमा पनि त्यो सम्भव भएको औँल्याउनुभयो । उहाँले देश झनझन पूँजीवादीको चंगुलमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्दै देशभक्त एकजुट भएर देश विकासमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं भनपा वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले देश सङ्घीय संरचनामा गएपछि सहकारी स्थानीय तहको मातहतमा आएकोले सोहि अनुरुप भक्तपुर नगरपालिकाले नियमित अनुगमन र नीति नियमहरु निर्माण गर्दै आएको बताउनुभयो । स्थानीय जनताको स्वामित्व तथा सामाजिक उत्तरदायित्व बहन नगरेको सहकारीमा धेरै समस्या एवं संचालक भाग्ने प्रवृति बढेकोले सबै चनाखो हुनुपर्ने औँल्याउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले गरेका विभिन्न विकास निर्माणका गतिविधिहरुको बारे पनि चर्चा गर्नुभयो ।

संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रामसुन्दर सुवालले सदस्यहरुलाई संस्थाको वित्तिय जानकारी नियमित रुपमा दिँदै आएकोमा खुसी व्यक्त गर्नुभयो ।

संस्थाका कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्था स्थापना कालदेखिका आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा उपस्थित सदस्यहरुसंग सुझाव संकलन गरिएको थियो ।

कार्यक्रममा सचिव राजु छुकां र प्रबन्धक प्रशान्त मानन्धर लगायतले पनि बोल्नु भएको थियो । साथै संस्था स्थापना दिवसकै अवसरमा स्वास्थ्य उपसमितिको आयोजनामा रक्तदान तथा नाक, कान, घाटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर स्थानीय इताछें गणेश मन्दिर परिसरमा सम्पन्न भयो । ख्वप अस्पतालको प्राविधिक सहयोगमा भएको नाक, कान, घाटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ७६ जनाले सेवा लिनुभयो भने रक्तदान कार्यक्रममा ३८ जना रक्तदाताले रक्तदान गरेको स्वास्थ्य उपसमितिका संयोजक प्रज्वलखत्रीले जानकारी दिनुभयो । संस्थाको १९औं बार्षिक उत्सव कार्यक्रमकै अवसरमा यहि पुस २६ गतेदेखि २८ गतेसम्म अन्तर सहकारी Girl’s Single U19 Badminton Competition 2080 कार्यक्रम हुने आयोजक जानकारी दिए ।

 

   

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *