भर्खरै :

गुलियो चिनीको तीतो असर ?

  • पुष ५, २०८०

जब चिनीको भाउ आकासिन्छ वा बजारमा अभाव हुन्छ, त्यसले गृहिणीमा चिन्ता पैदा गर्छ । उनीहरूलाई लाग्छ, ‘चिनी पाइएन भने कसरी मीठा परिकार बनाउने ?’ चिनी महँगो हुँदा भोजभतेर खल्लो हुने भयो भन्ने गुनासोहरू पनि बेलाबखत सुनिन्छ । सही हो, चिनी स्वादिलो हुन्छ । गुलियो हुन्छ । तर, जिब्रोको लागि गुलियो चिनी स्वास्थ्यका लागि लाभदायक छैन ।

सायद गृहिणीहरूलाई यो कुराको बोध हुँदो हो त, ‘चिनी नपाएर खानेकुरा खल्लो हुन्छ’ भन्ने मानसिकता बदलिन्थ्यो होला । हुन त अहिलेको जमानामा चिनीको प्रयोग ठ्याम्मै रोक्नुपर्छ भन्नु उति व्यवहारिक नहोला । तर, चिनी नखाँदैमा स्वास्थ्यमा केही फरक पर्दैन । यो कुरा सबैले थाहा पाउनुपर्छ ।

चिनीले स्वास्थ्यमा के कस्तो समस्या निम्त्याउँछ त ? सोझो असर हेर्न बालबालिकाको दाँत हेरे पुग्छ । चकलेट, आइसक्रिम, मिठाइजस्ता चिनीजन्य खानेकुरा खाने बालबालिका दाँत र मुखको समस्याले ग्रस्त हुन्छन् ।

अहिले त हामी बालबालिकालाई खुसी पार्न चकलेट दिन्छाँै, उपहार पनि चकलेट/मिठाइ नै । मायाले दिएका यी खाद्यपदार्थले बालबालिकाको स्वास्थ्यमा भने प्रतिकुल असर पर्छ । सानै उमेरमा दाँतमा कीरा लाग्नु यसैको नतिजा हो ।

कति अभिभावक त सचेत छन् । सकेसम्म उनीहरू आफ्ना छोराछोरीलाई चकलेट, मिठाइबाट अलग गराउन खोज्छन् । चिनीले बालबालिकामा मात्र होइन, किशोर–किशोरी, वयस्क, वृद्धवृद्धा सबैमा यसको नकारात्मक असर पर्छ । किशोरावस्थामा गुलियो खानेकुरा खानाले नै हो, मोटोपन बढाउने । अहिले कतिपय किशोर–किशोरी अस्वाभाविक मोटाएका हुन्छन् । यिनीहरू जहिले पनि मुटु रोगको जोखिममा हुन्छन् ।

मुटु रोगलाई विगतमा खानदानी रोग पनि भनिन्थ्यो । संभ्रान्त एवं हुनेखानेलाई मात्र लाग्ने । मीठो मसिनो खाने तर शारीरिक श्रम नगर्नेहरू मुटु रोगका शिकार बन्थे । तर, अहिले गुलियोको अधिकतम प्रयोगले यो सबै वर्गमा फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्घले केही वर्षअघि मात्र ‘चिनीले स्वास्थ्यमा असर पार्ने’ भनी औपचारिकरूपमा पुष्टि गरेको छ । पछिल्लो दस वर्षमा जनस्वास्थ्य विशेषज्ञ, पोषणविद्, दन्त चिकित्सकहरूले भन्दै आएको कुरालाई उसले बल्ल मोहर लगाएको हो ।

विश्व स्वास्थ्य सङ्घले यो पुष्टि गरिरहँदा केही जनस्वास्थ्य विशेषज्ञहरूले ‘२००२ देखि नै खानेकुरामा चिनीजन्य भोजनको मात्रा कम हुनुपर्छ’ भनेर निष्कर्ष निकालिसकेको थियो ।

‘ब्रिटिस मेडिकल पत्रिका’ जनस्वास्थ्यको क्षेत्रमा एक प्रतिष्ठित नाम हो । यसले लेखेको छ, ‘सिधै चिनी खानाले मात्र नभई चिनी हालेका मिठाइ, फलफुलको रम, बिस्कुट आदिमा मिसिएको चिनीले पनि दाँतमा कीरा लाग्न र मोटोपन बढाउन मद्दत गर्छ ।’ हामीकहाँ मात्र होइन, अमेरिकामा पनि छ यस्तो समस्या । परिणामतः छोराछोरीमा मोटोपन लगायतका अनेकौ समस्या पैदा भएको छ ।

यसै विषयलाई लिएर अहिले स्वास्थ्यकर्मीहरू चिन्तित छन् । यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने सम्बन्धमा बहस सुरू भएको छ । बट्टाका फलफूलको रस व्यक्तिले पिउनु हुँदैन, किनभने यसमा चिनीको मात्रा धेरै हुन्छ भनेर बारम्बार चिकित्सकहरूले भन्दै आएका छन् । तर प्रायजसो व्यक्ति बट्टामा राखिएको जुस ताजा फलफुलको रसबाट नै बनाएको हुन्छ भन्ने भ्रममा पर्छन् र यस्तो पेयपदार्थ प्रयोग गर्छन् । पैसा तिरेर खराब स्वास्थ्य किन्छन् ।

हामीले चिनी खान्न भने पनि बिस्कुट, चकलेट, विभिन्न चिसो पेय पदार्थलगायतका विभिन्न वस्तुमा लुकेकोे चिनी थाहै नपाइकन पनि खाइरहेका हुन्छौँ, जसका बारेमा हामीलाई पत्तै हुँदैन । त्यसले हामी र हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्दछ ।

कतिपय आमाबाबुले आफ्नो सन्तानलाई घरको दालभात नखाए पनि कमसेकम बट्टाको फलफुल खायो भने त शरीरमा तागत पुग्छ भन्ने ठानेर चिनीले भरिएको फलफुलको झोल दिन्छन् ।

ती मातापिताले बुझेका हुँदैनन्, यसरी फलफुलको रस भनेर चिनीको झोल दिँदा बच्चाको दाँत सबै खराब हुन्छ । बच्चालाई अस्वस्थ होस्, दाँत बिग्रियोस्, कुपोषण होस्, भविष्यमा मधुमेहको सिकार बनोस्, उच्च रक्तचापको औषधि सेवन गरोस्, सानैदेखि मोटोपन भएर अनेक किसिमको समस्या होस् भन्ने आशीर्वाद दिन चाहनुहुन्छ भने दिनोस् बट्टामा भएको चिनीको फलफुलको रस होइन आफ्ना छोराछोरीलाई दिने चिनीजन्य पदार्थ कति विषाक्त छ भन्ने कुराको हेक्का राख्नुपर्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *