भर्खरै :

नेपालका प्रधानमन्त्री तथा मन्त्रीहरूमा दूरदर्शिताको खाँचो

  • मंसिर ३०, २०८०

भक्तपुर, २९ मङ्सिर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १५ औँ वार्षिकोत्सव समारोहको समापन तथा सांस्कृतिक कार्यक्रम शुक्रबार एक भव्य समारोहबिच कलेज प्राङ्गणमा सम्पन्न भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीले शिक्षालाई जोड दिँदै २०५६ सालबाट ख्वप माविलगायतका कलेजहरू स्थापना गरी सोही जगमा उभिएर देशको लागि आवश्यक जनशक्ति उत्पादनमा निरन्तर योगदान पु¥याउँदै आएको बताउनुभयो ।

प्राविधिक क्षेत्रका दक्ष जनशक्तिलाई नेपालमै रोजगारीको अवसर प्रदान गर्न नसके यी जनशक्ति पनि विदेसिने सम्भावना रहेको उल्लेख गर्दै उहाँले देशका मन्त्री तथा प्रधानमन्त्रीहरूमा दूरदर्शिताको अभाव रहेकै कारण आज देश भताभुङ्ग अवस्थामा पुगेको बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो जिल्लाको मात्र विकास हेर्ने नभई देशकै समग्र विकासमा ध्यान दिनुपर्ने र भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीतिले नेपालको प्राकृतिक स्रोतसाधन कब्जा भइरहेको प्रसङ्ग जोड्दै उहाँले गोर्खा भर्ती केन्द्र तत्काल खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय राजधानी काठमाडौँमा जनसङ्ख्या वृद्धि सँगसँगै खानेपानी अभाव, प्रदूषण, सडक जाम, अपराध सङ्ख्या बढ्दै गइरहेको बताउँदै उहाँले सरकारले देशको सन्तुलित विकास गर्न विभिन्न जिल्लामा व्यवस्थित सहरहरू निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालले प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउनुपर्ने धारणा राख्दै उहाँले अमेरिकाको आडमा इजरायलले प्यालेस्टिनमाथि गरिरहेको निर्मम हत्या र युद्ध अपराध छिटोभन्दा छिटो अन्त्य गरिनुपर्ने बताउनुभयो । इजरायल आज अमेरिकाको कठपुतलीको रूपमा प्रस्तुत भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालको संविधान निर्माणपछि सङ्घीयता कार्यान्वयनमा आएसँगै भक्तपुर नगरपालिकाले संविधानको भावना र मर्मानुसार समाजवादउन्मुख कार्य गर्दै आएको बताउनुभयो ।


उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वयको अभावले धेरै समस्याहरू भोग्दै आएको बताउँदै सरकारले जनताको हितमा काम गर्न नसकेकै कारण अहिले गणतन्त्रको विकल्प खोज्नुपर्नेजस्ता मागहरू उठिरहेको धारणा राख्नुभयो ।

उहाँले यो वर्ष ख्वप विश्वविद्यालय विधेयक संसद्बाट पारित हुनेमा आशावादी रहेको उल्लेख गर्दै शैक्षिक ऋण दिएर गरिब परिवारलाई उच्च शिक्षाको व्यवस्था गर्ने भक्तपुर देशकै पहिलो नगरपालिका भएको बताउनुभयो । उहाँले समाजलाई बुद्धिजीवीकरण गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने घोषित नीतिलाई पूरा गर्न नगरपालिकाले शैक्षिक ऋणको नीतिलाई अगाडि बढाएको प्रस्ट पार्नुभयो ।

वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले इन्जिनियरिङ क्षेत्रमा भक्तपुर नपाबाट सञ्चालित कलेजहरूको योगदान अतुलनीय रहेको बताउँदै प्रतिकूल समयमा पनि यी कलेजहरूले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै देशकै लागि ‘आशाको केन्द्र’ को रूपमा कलेजहरू सञ्चालन भइरहेको चर्चा गर्नुभयो ।

शिक्षामा निजीकरण र व्यापारीकरणको नीतिले देशको शिक्षा क्षेत्र दयनीय भएको बताउँदै उहाँले इजरायलले प्यालेस्टिनमाथि गरिरहेको बर्बर हमला मानव जातिमाथिको युद्ध अपराध भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्ने नगरपालिकाको उद्देश्य क्रमशः पूरा हुँदै आएको उल्लेख गर्दै ‘एक घर एक स्नातक’ को अवधारणाले पनि यसलाई टेवा पु¥याएको बताउनुभयो ।

भक्तपुर नपाले शिक्षाको जगलाई बलियो पार्न विभिन्न विषयका कलेजहरू सञ्चालन गरी देशकै लागि योग्य नागरिक तयार गरिरहेको बताउँदै उहाँले यहाँ अध्ययनरत विद्यार्थीहरूमा देशभक्त भावना हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष डा. पद्मबहादुर शाहीले भक्तपुर नपाबाट सञ्चालित दुवै कलेजहरूको शैक्षिक वातावरण, पूर्वाधार तथा व्यवस्थापन उत्कृष्ट रहेकै कारण विद्यार्थीको आकर्षणको रूपमा यो कलेज विकास भइरहेको बताउँदै उत्तीर्ण विद्यार्थीहरूले आफ्नो कार्यक्षेत्रमा एक असल र इमानदार नागरिक भई काम गर्न मार्गनिर्देश गर्नुभयो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्राचार्यद्वय रत्नशोभा प्रजापति र सुवेगमान बिजुक्छेँले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङबाट अध्ययन पूरा गरेका विद्यार्थीद्वय अनिश शिल्पकार र इच्छा प्रधानाङ्गले ख्वपबारे आफ्नो शैक्षिक अनुभव सुनाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि सुवालले कलेजबाट स्नातकोत्तर र स्नातक तहबाट अध्ययन पूरा गरेका उत्कृष्ट विद्यार्थीहरूलाई मायाको चिनो वितरण गर्नुभएको थियो भने कलेज सञ्चालक समितिका अध्यक्ष प्रजापतिले कलेजबाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।

May be an image of 3 people

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *