सिद्धान्त र विचारभन्दा सत्ता गुम्ला भन्ने पिर !

  • मंसिर ६, २०७७

—बस्तुराज ‘शीतल’

सिद्धान्त र विचारको राजनीति गर्ने दलले सत्ता गुम्ला, मन्त्री नरहला र पार्टी चलाउन गाह्रो होला भनेर चिन्ता लिँदैन, कम्युनिस्ट पार्टीले त यो चिन्ता झनै लिँदैन । तर, सत्तारुढ दल नेकपाका नेता, मन्त्री जाला भन्ने चिन्ताले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको मतलबै राखेनन् । सत्ता जाला भनेरै सिद्धान्त र विचारको वास्ता नगरी नेकपाका अध्यक्षद्वयहरु वाक्युद्ध गर्दै छन् । वाक्युद्धको हिसाब गर्दा पूर्वएमाले र पूर्र्वमाओवादी अलग्ग हुनुपर्ने अवस्थामा पुगिसकेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्तावलाई अर्का अध्यक्ष केपी ओलीले राजनीतिक जीवन नै सिधिने खालको रुपमा लिए । उनकै ििवचार साटेर भन्नुपर्दा प्रम र अध्यक्ष पदबाट राजीनामा दिएर सन्यास लिए पनि हुन्छ भन्दा फरक पर्दैन ।

प्रम ओली दाहालभन्दा कम्ताका छैनन् । कार्यकारी अध्यक्ष दाहालले पेश गरेको प्रस्ताव असफल भएमा उनले पनि पार्टी अध्यक्ष छोड्नुपर्ने वाण छोडे । प्रम अमेलीका अनुसार अध्यक्ष दाहालको प्रस्ताव कुनै हालतमा पारित हुनेछैन । पार्टी बैठकले अस्वीकार गर्नुभन्दा अघि नै प्रम ओलीले ठाडै अस्वीकार गरिसकेका छन्, खारेज गरिसकेका छन् । यस अर्थमा अध्यक्ष दाहालको प्रस्ताव अस्वीकृत भइसकेको छ । दुई अध्यक्षको कुरा सुनेर मूल्याङ्कन गर्दा दुवै अध्यक्ष नालायक भएका छन्, दुवै अध्यक्षले आ—आफ्नो पदबाट राजीनामा दिनुपर्ने भइसकेको छ । के दुवै अध्यक्ष अहिले राजीनामा दिन तयार छन् ? अहिले राजीनामा नै नदिए पनि अब हुने पार्टीको महाअधिवेशनले दुवै अध्यक्षलाई बिदा दिने सङ्केत मिलेको छ ।

नेकपाकै नेताहरुले अहिले युवा पुस्तालाई पार्टी हस्तान्तरण गर्नुपर्ने कुरा उठाइरहेका छन् । ओली र दाहाललाई अध्यक्ष पदबाट हटाएर या बिदा दिएर के नेकपाभित्रको यो वाक्युद्ध अन्त्य हुन्छ ? पुस्ता पुरानो या नयाँ जसको हातमा पार्टी र सरकार पुगे पनि पूर्वएमाले र पूर्वमाओवादी मिलेर एक भएको नेकपाभित्र पछि पनि एमाले र माओवादीको आ—आफ्नै चिन्तन र विचार प्रस्ट देखिरहनेछन् । यसले सिद्धान्त र विचार थाती राखेर नेकपा एक भएकी थाहा हुन्छ । आफू पार्टी अध्यक्ष र प्रम भएको हैसियत जोडेर आफूखुसी निर्णय गर्ने काम ओलीले गरिरहेको दाहालपक्षधरको दाबी हो । नेकपाको सचिवालय, स्थायी समिति या केन्द्रको बैठक नै किन नहोस् नेकपा सच्चिएर कम्युनिस्टको सिद्धान्त र विचारअनुसार पार्टी र सरकार सञ्चालन गर्नेबारे बैठकमा बहस हुनुपर्छ । अब नेकपाले समाजवादी व्यवस्था संसदबाटै ल्याउने हो या सङ्घर्ष गरेर ल्याउने हो कित्ताकाट गर्नुपर्छ । नेकपाको बैठकले वर्गसङ्घर्ष नीति लिने या नलिने स्पष्ट विचार जनतासामु ल्याउने निर्णय गर्नुपर्छ । कम्युनिस्टको सिद्धान्त र विचार त्यागेको हो भने पार्टीको प्रथप्रदर्शक माक्र्सवाद र लेनिनवाद पनि छोड्नुपर्छ ।

स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *