दसैँमा यस्ता गल्ती नगरौँ

  • कार्तिक ५, २०७७

दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाहिर आ—आफ्नो गाउँ जाने क्रम सुरु भएको छ । कोभिड—१९ सङ्क्रमणको जोखिमबाट जोगिन पहिलेजस्तै सार्वजनिक यातायातमा कोचाकोच गरी घर जाने मानिस कम भए पनि स—साना सवारी साधन भाडामा लिएर जिल्ला फर्किने धेरै छन् । आफ्नो परिवारमात्र यसरी यात्रा गर्नु तुलनात्मकरुपमा सुरक्षित मानिएको छ । काठमाडौँ उपत्यकामा अध्ययनरत विद्यार्थीमध्ये यसअघि नै धेरै जिल्ला फर्किसकेको हुनाले पनि उपत्यकाबाहिर जानेको चाप कम हुने अपेक्षा गरिएको छ । यसअघि घटस्थापनाको केही दिनअघिबाट नै घर फर्किने मानिसको भीड हुने गरेकोमा यसपालि महामारीकै कारण त्यो अवस्था आइसकेको छैन । तथापि, टीकाको दिन नजिकिएसँगै उपत्यकाबाहिर जानेको लर्को लामो हुने सम्भावनालाई नकार्न सकिन्न । यसको निम्ति सरकारले पत्रकार भेटघाटमा औपचारिक आह्वानमात्र गरेर पुग्ने अवस्था छैन । सरकारका सबै सम्बन्धित निकायको उचित परिचालन र कडाइले मात्र सार्वजनिक यातायातमा कोभिडको जोखिम नहुने सावधानी सम्भव छ ।

यातायात व्यवसायीले कोभिडको जोखिम नहुने सावधानीका उपायलाई झाराटार्ने किसिमले मात्र पालना गरिरहेको काठमाडौँ उपत्यकालगायत देशभरिका मुख्य सहरी क्षेत्रमा सञ्चालित सार्वजनिक सवारी साधनको अवस्थाबाट थाहा हुन्छ । सार्वजनिक सवारीमा यात्रुहरुबीच आपसी दुरी, निसङ्क्रमण प्रक्रिया, मास्क र भाइजरको प्रयोग गर्नुपर्ने नियम झाराटार्ने हिसाबले मात्र अभ्यासमा देखिएको छ । सबै कार्यालय र कार्यस्थल खुलेपछि सर्वसाधारण कोभिडको जोखिम मोलेर पनि सार्वजनिक यातायातमा यात्रा गर्न बाध्य छन् । तर, जिम्मेवार सरकारी निकायले भने सार्वजनिक यातायातमा भइरहेका यस्ता लापरबाही नियन्त्रणमा कुनै पर्वाह गरिरहेको छैन । सहरी क्षेत्रका सवारी साधनमा भइरहेका यस्ता कमजोरी नियन्त्रण गर्न नसक्दा महामारी अझ व्यापक स्तरमा फैलिसकेको छ । दसैँमा घर जाने सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक यातायातमा फेरि पनि यस्तो कमजोरी भए महामारी देशभरिका गाउँ—गाउँमा फैलिने सम्भावना प्रबल छ ।

त्यसो त सरकारले कोभिड महामारीप्रतिको जिम्मेवारीबाट पूर्णतः हात झिकिसकेको छ । त्यसकारण सार्वजनिक यातायातमा हुनसक्ने सङ्क्रमणको जोखिम नियन्त्रणमा सरकारले सक्रियता देखाउनेमा धेरै अपेक्षा गर्न सकिन्न । सर्वसाधारण र यातायात व्यवसायी स्वयम् नै यसमा सजग हुनुपर्ने अवस्था छ ।

केही स्थानीय पालिकाले आ—आफ्नो क्षेत्रमा लाग्ने दसैँ मेला नगर्न सर्वसाधारणलाई सूचित गरेका छन् । तर, सूचना वा आह्वानले मात्र जनताले त्यसको पालना गर्ने अपेक्षा गर्न सकिन्न । जनप्रतिनिधि, स्थानीय प्रशासन र समाजका सचेत नागरिककै अगुवाइमा परिस्थिसतको संवदेनशीलतालाई ध्यानमा राखी त्यस्ता मेलालाई औपचारिकतामा सीमित राख्ने र भीडभाड हुन नदिने विषयमा व्यवहारिक तयारी गर्न जरुरी छ ।

लकडाउन र सटडाउन यता सबै क्षेत्र खुला हुँदा जसरी सङ्क्रमणको दर बढेको छ, दसँैमा मानिसको आवतजावत र आपसी सम्पर्क बढ्दा अझ सङ्क्रमण विस्तार हुनसक्ने भएकोले सर्वसाधारण विशेष सजगता अपनाउनुपर्ने अवस्था छ । अकर्मण्य सरकारको अब भरपर्न सकिन्न । जनता आफै सजग हुनु नै आफू र समाजलाई सुरक्षित रहने बुद्धिमानी हुनसक्छ ।

महामारी समयमा केही सय थप नाफाको लागि अनावश्यक जिद्दी गरे त्यसले अरुलाई मात्र होइन, आफूलाई पनि सिध्याउने अवस्था निम्त्याउन सक्छ । केही रुपैयाँ थप आम्दानीको लोभका हामीले आफू र समाजलाई नै भड्खालोमा जाक्ने गल्ती गर्नुहुन्न ।

स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *