भर्खरै :
सरकारी जग्गा र पोखरी संरक्षण गर्न भक्तपुरका प्रजिअको ध्यानाकर्षण | माओ कसरी क्रान्तिकारी बन्नुभयो ? | बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न | भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु |

भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु

  • पुष २८, २०८१

भक्तपुर, पुस । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभाको शुक्रबार एक समारोहबिच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।

कार्यक्रममा सचिव सुवालले भक्तपुरलाई सफा–स्वच्छ सांस्कृतिक नगर र पर्यटकीय गन्तव्य स्थल बनाउन कुहिने र नकुहिने फोहोर अलग अलग सङ्कलनमा सहयोग लिन नगरवासीहरूलाई सचेत पार्नुपर्ने, नगरको पुरानो क्षेत्रमा २०७२ सालको भूकम्पमा भत्किएका घरहरू पुनःनिर्माण गर्न नगरवासीहरूलाई उत्साहित गर्नुपर्ने र भक्तपुरको सांस्कृतिक र पर्यटकीय महत्वबारे स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नयाँ पुस्तालाई सुसंस्कृत बनाउन शिशुस्याहार तथा बाल विकास केन्द्रलाई प्राथमिकतामा राख्नुपर्ने र शिक्षक तथा आयाको भूमिका निर्वाह गर्नेहरूलाई बरोबर तालिमहरू दिनुपर्नेमा जोड दिँदै उहाँले डेरामा बस्नेहरूलाई पनि भक्तपुरको सांस्कृतिक सम्पदा, सरसफाइलगायत नागरिक भावनासम्बन्धी चेतना दिई देशभक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विद्यालयमा विद्यार्थीहरूलाई सातै घण्टी अध्ययन अध्यापन गराउनेभन्दा पनि अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने विज्ञहरूको सुझाव पेस गर्दै उहाँले नगरपालिकामा दर्ता नभएका सहकारी संस्थाहरूको सञ्चालनमा रोक लगाउनुपर्ने उल्लेख गर्नुभयो ।

नगरका विद्यालयको स्थानीय पाठ्यक्रममा परम्परागत खेल र नृत्यलाई समावेश गर्ने, तीन–तीन महिनामा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्ने र प्रयोगात्मक शिक्षामा जोड दिने, विद्यार्थीहरूलाई श्रमप्रति सम्मान गर्न सिकाउने, समाज र स्वास्थ्यलाई विकृत पार्ने मादकपदार्थ, लागूपदार्थ, तयारी पत्रुखाना र पेयपदार्थहरूको बिक्री वितरणलाई निरुत्साहित गर्नेलगायत विषयमा नगरपालिका सचेत हुनुपर्ने सांसद सुवालको मत थियो ।

पुस २५ गतेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने षड्यन्त्र भइरहेको, चिनियाँ जहाज उडान नगरी भूमिस्थ राखिएको, निगमलाई अनावश्यक दबाब दिने मन्त्री र विमानस्थल निर्माणमा कमिसन खानेहरू सार्वजनिक हुनुपर्ने, सौर्य विमान सेवाको विमान दुर्घटनाको प्रतिवेदन पीडितको पक्षमा नरहेको लगायत जनताको गुनासो आफूले उठाउन खोज्दा सभापति राजकिशोर यादवले ‘चुप लाग्नु’ भनी दबाब दिँदै बैठक टुङ्ग्याएको उल्लेख गर्नुभयो । सांसद सुवालले जनताको एक प्रतिनिधि र देशको सचेत नागरिकको हैसियतले सभापतिको अप्रजातान्त्रिक व्यवहारको आफूले खण्डन गरेको उल्लेख गर्दै सांसद सुवालले सभापतिले समितिको नेताको भूमिका निर्वाह नगरेको औँल्याउनुभयो ।

निरङ्कुश शासन प्रणालीविरुद्ध उठेको जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना भएको उल्लेख गर्दै सांसद सुवालले मन्त्रीपरिषद्को निर्णयअनुसार भ्रष्टाचार भए पनि कारबाही नहुने तर त्यसमुनिको निर्णयमा मात्र अख्तियार लाग्ने बन्दोबस्त बेठीक भएको स्पष्ट गर्नुभयो ।

पानी नभएको खोलाको सयौँ जलविद्युत् उत्पादन स्वीकृति लिएर त्यसको शेयर जनतालाई बेची केही व्यक्ति रातारात अर्बपति बनेको बाहिरिएको उल्लेख गर्दै सांसद सुवालले सबै पेसाका मानिसहरूलाई अलग अलग बैठक राखी देशभक्त र निःस्वार्थ भएर जिउनेबारे सचेत पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका थुप्रै चुनौतीहरूबिच संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादउन्मुख बाटोमा अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माण र युवाहरूलाई रोजगारलक्षित कार्यक्रमहरू गरेर त्यही लक्ष्य प्राप्तिका आधारहरू निर्माणमा जोड दिँदै आएको बताउँदै उहाँले नेपाल मजदुर किसान पार्टीको सिद्धान्त, नीति र निर्देशनअनुसार देश र जनताको सेवा गर्नुलाई नै आफ्नो कर्तव्य ठानेको बताउनुभयो ।

पारदर्शिता, इमानदारिता र आर्थिक अनुशासनलाई ध्यानमा राखेर भक्तपुर नपाले काम गरिरहेको बताउँदै प्रमुख प्रजापतिले देश र जनताको सेवा गर्नेबाहेक जनप्रतिनिधिहरूको अर्को कुनै स्वार्थ नभएको स्पष्ट पार्नुभयो ।

ख्वप विश्वविद्यालय स्थापना गर्ने भक्तपुरवासी जनताको चाहना भएको बताउँदै उहाँले ख्वप विश्वविद्यालय विधेयक पारित भएमा भक्तपुर नपाले चिकित्सालगायत अन्य क्षेत्रमा पनि सेवा गर्ने अवसर पाउने बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नगरसभा पूर्ण सफलताको शुभकामना दिँदै नगरलाई थप उचाइमा पु¥याउन नगरसभा क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पुराना बस्तीमा पनि मौलिक नाम जगेर्ना गर्न तदारुकता अपनाउनुपर्ने जनताको चाहना रहेको बताउनुभयो ।

इतिहाससँग जोडिएको भक्तपुरको जगातीको महत्वपूर्ण पक्षलाई अध्ययन अनुसन्धान गरी त्यसको महत्व उजिल्याउन आवश्यक भएको बताउँदै सांसद गोसाईले भक्तपुर नपाले एकीकृत विकास प्रणालीमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले च्याम्हासिंहदेखि कमलविनायकको फुटपाथ व्यवस्थापन गर्नुपर्ने बताउँदै भूकम्पीय जोखिम न्यूनीकरणमा नपाले आवश्यक तयारी गर्नुपर्ने देखिएको छ भन्नुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपालाई उत्कृष्ट नगर बनाउन मार्गनिर्देश गर्ने नेमकिपाका अग्रज र नपाका हरेक काममा साथ र सहयोग दिने नगरवासीहरूमा हार्दिक धन्यवादज्ञापन गर्नुभयो ।

भक्तपुर नपाले सांस्कृतिक गतिविधि संरक्षण, संवद्र्धन र प्रवद्र्धनको लागि प्रत्येक वर्ष सांस्कृतिक बाजा प्रतियोगिताका साथै सांस्कृतिक गुरु सम्मान कार्यलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।

भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुर नपाले नागरिकहरूलाई सेवा प्रदान गर्न समर्पणभावले काम गरिरहेको बताउँदै शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रमा गरेको उपलब्धि प्रशंसनीय भएको बताउनुभयो ।

उहाँले नगरमा सुशासन कायम र समृद्धि हासिल गर्ने विषयमा पनि नपाले प्राथमिकताका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्दै पर्यटन क्षेत्रमा उपलब्धि हासिल गर्न नगरसभाले पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभयो ।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेजबाट प्रवाहित सेवा सुविधा र कलेजमा अध्ययन गरेका विद्यार्थी सङ्ख्याबारे अवगत गराउनुभयो भने ख्वप अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले अस्पतालका सेवाहरूबारे जानकारी गराउनुभयो । नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पा.का प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको थियो भने भ.न.पा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख एवम् सत्रौँ नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको सत्रौँ नगरसभाको पहिलो बैठक पुस २६ गते बस्यो ।

बैठकले नगरसभाको उद्घाटन सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवादज्ञापन प्रस्ताव सर्वसम्मतिले पारित गर्यो ।

बैठक सुरु गर्दै सभाध्यक्ष प्रजापतिले भक्तपुर शिक्षा र स्वास्थ्यमा अन्य स्थानीय तहको लागि अध्ययन गर्ने थलोको रूपमा विकास भइरहेको बताउँदै शासक दलहरूबिच हरेक विषयमा भागबन्डा गर्ने गलत प्रवृत्तिकै कारण ख्वप विश्वविद्यालयको विधेयक अहिलेसम्म पारित हुन नसकेको बताउनुभयो ।

बैठकमा उहाँले नगरसभाको अर्को बैठक माघ २ गते १ बजे बस्ने जानकारी गराउनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *