शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने
- पुष २८, २०८१
भक्तपुर, साउन । संस्थागत विद्यालय सङ्घ (इसान) ले एसईई २०८० मा विद्यालयगत उत्कृष्ट विद्यार्थी, १५ वर्षभन्दा बढी निरन्तर सेवारत विद्यालय व्यवस्थापन समिति अध्यक्ष, व्यवस्थापक, शिक्षक एवं ननटिचिङ स्टाफहरूको सम्मानमा शनिबार एक विशेष समारोहबिच सम्मान कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रमको समुद्घाटन गर्दै नेमकिपाका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले नयाँ समाज निर्माणको निम्ति योग्य शिक्षक तयार भए देश नै अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।
पुँजीवादी व्यवस्था बदल्न देश विदेशबारे जानकारी राख्ने नयाँ पुस्ता तयार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले साम्राज्यवाद पुँजीवादको चरम विकास हो भन्नुभयो ।
सत्तासीन दलका नेता तथा कार्यकर्ताहरूमा सिद्धान्त र विचारमा अडान नहुँदा देश झन् झन् अव्यस्थित, अनियन्त्रित र अस्थिर हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले देश र जनताको निम्ति समर्पित भएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संसारका स्वतन्त्र र सार्वभौम देशमा आक्रमण गर्ने, अरु देश जुधाएर हतियार बेच्ने, आन्तरिक द्वन्द्व चर्काएर कमजोर बनाउने काममा संयुक्त राज्य अमेरिका लागिरहेको चर्चा गर्दै संयुक्त राज्य अमेरिका संसारकै सबभन्दा बदनाम देश हो भन्नुभयो ।
देश र जनता भुलेर पैसामुखी राजनीतिले देश गलत बाटोमा गइरहेको उल्लेख गर्दै उहाँले शिक्षकहरू अझ जिम्मेवार भएर सही राजनीति गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शिक्षकहरू योग्य, सक्षम, सफल र उदाहरणीय हुनुपर्नेमा जोड दिँदै उहाँले पुँजीवादी व्यवस्था नफालेसम्म व्यापक जनताको सेवा नहुने विचार व्यक्त गर्नुभयो ।
देशको सेवाभन्दा मौका पाए भ्रष्टाचार गर्न पछि नपर्ने सत्तासीन दलका नेता र मन्त्रीहरू भ्रष्टाचार र अनियमिततामा फसिरहेको उल्लेख गर्दै उहाँले कम्युनिस्ट शासनमा सबै भ्रष्टाचारीहरू जेलमा जाने बताउनुभयो ।
भागबन्डा, पैसा र लोभलालचमा फसेको कारण सत्तासीन दलका नेताहरूमा सैद्धान्तिक र वैचारिक अडान नभएको हुँदा देशको विकास नभएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सरकार प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत थ्रेसहोल्डको व्यवस्था गरे पनि जनताको प्रजातन्त्र कसैले रोक्न नसकिने बताउनुभयो ।
शिक्षक, अभिभावक र विद्यार्थीमाझ समसामयिक विषयमा अन्तरक्रिया गरेर ज्ञानको क्षितिज बढाउनुपर्ने र व्यक्तित्व विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले शिक्षकहरू समाजका जिम्मेवार भएका कारण देशको लागि आवश्यक जनशक्ति तयार गर्न क्रियाशील भइरहनुपर्नेमा जोड दिनुभयो ।
देशभर नै विषयगत, क्षमतावान शिक्षकको अभाव भएको उल्लेख गर्दै उहाँले शिक्षक, युवा र विद्यार्थीको पलायनले देश कसरी बन्छ भनी प्रश्न गर्नुभयो ।
शिक्षकहरूको योगदानको कदर गर्नु सान्दर्भिक भएको उल्लेख गर्दै उहाँले सरकारको गलत शिक्षा नीतिले गर्दा देशको शैक्षिक स्तर नउठेको बताउनुभयो ।
इसानका सल्लाहकार एवं संस्थापक अध्यक्ष सरोजराज गोसाईले राज्यका गलत नीति, निर्णय र कार्यको विरोधमा शिक्षकहरूले सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै देश र जनताको समस्याबाट वास्ता नगर्ने, भगुवा र देश छाड्ने प्रवृत्तिको निन्दा गर्नुभयो ।
सिद्धान्त र विचारभन्दा पैसा नै सबथोक सम्झने गलत प्रवृत्तिले देशमा अस्थिरता निम्तिरहेको चर्चा गर्दै उहाँले देश जोगाउन र बनाउन शिक्षकको अहम् भूमिका हुन्छ भन्नुभयो ।
बुद्धिजीवी र प्राज्ञहरूको उपस्थितिमा पुस्तक अध्ययन गरी अन्तरक्रिया गरिरहनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले शिक्षकहरूले राजनीतिक, सामाजिक जिम्मेवारी पनि बहन गर्नुपर्नेमा जोड दिनुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले देशभर शिक्षाको स्तर उठाउन राज्यले भेदभाव गर्न नहुनेमा जोड दिनुभयो ।
शिक्षाको सम्पूर्ण जिम्मा राज्यले लिए संस्थागत विद्यालय सङ्घ सरकारलाई हस्तान्तरण गर्न तयार रहेको उल्लेख गर्दै उहाँले समाजमा वर्ग रहेसम्म वर्गीय राजनीति भइरहन्छ भन्नुभयो ।
इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवांले देशको शैक्षिक क्षेत्र राम्रो भए देशै राम्रो हुने विचार व्यक्त गर्दै समाज निर्माणमा शिक्षकहरूले आ–आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले सरकारको गलत शिक्षा नीतिको कारण शैक्षिक स्थिति खस्केको हो भन्नुभयो ।
इसान जिल्ला समिति भक्तपुरका अध्यक्ष कृष्णराम त्वानाबासुले कार्यक्रमको सभापतित्व ग्रहण गर्दै शिक्षा राज्यको दायित्व हो, सीपमूलक र संस्कारयुक्त शिक्षा आजको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा अतिथिहरूले हरेक विद्यालयका उत्कृष्ट २२ जना विद्यार्थी र १५ वर्षभन्दा बढी सेवा गरेका आंशिक शिक्षक, सुरक्षाकर्मी, चालक र विद्यालयका सहयोगी ५८ जनालाई कदरपत्र र मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो ।
Leave a Reply