भर्खरै :
भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु | नेमकिपा काठमाडौँ जिल्लाको सातौँ जिल्ला सम्मेलन सुरू – कम्युनिस्टको बदनाम नक्कली कम्युनिस्टहरूले गरे | इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी | अमेरिकाको सुरक्षामाथि फेरि प्रश्न |

‘जङ्क्सन पिपलबोट’ नवीन गद्य कृति पढ्दा नयाँ सडक साहित्यकार, राजनीतिकर्मी, पत्रकार र गुप्तचरहरूको केन्द्र

  • श्रावण १४, २०८१

–गौरव प्रधान

जनपक्षीय कविको रूपमा परिचित प्रकाश गुरागाईँले नवीन गद्य कृति ‘जङ्क्सन पिपलबोट’ प्रकाशन गरेर नयाँ सडकको कथा भन्दै विशेषतः नयाँ सडककेन्द्रित भएर साहित्य, राजनीति र नेपाली संस्कृतिबारे जानकारी दिए । राणाकालदेखि नै राजनीतिको केन्द्र रहेको नयाँ सडक राणाविरुद्ध पहिलो सङ्गठित आन्दोलन गर्ने थलो भनी लेखकले चर्चा गरे । कवि, गायक, गजलकार, वरिष्ठ र नयाँ साहित्यकार, पत्रकार, राजनीतिकर्मी, कर्मचारी र गुप्तचरहरूको जङ्क्सन नयाँ सडकको भट्टी पसल राजनीतिक स्वतन्त्रताविरुद्धको असन्तुष्टि पोख्ने, रुढिवादी विचारको आलोचना गर्ने, कविता सुनाउने, समालोचना गर्ने, पुस्तक विमोचन गर्ने र नियमित भेटघाट गर्ने थलो थियो । कवि कुनो बनाउने सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाल रिमाल, गोविन्दबहादुर मल्ल, विजय मल्ल, लक्ष्मीप्रसाद देवकोटा, नारायणप्रसाद बास्कोटाहरू नियमितझैँ भेटघाट गरेर राजनीतिक गफ र साहित्यिक चर्चा गर्थे । भूपी शेरचन, शङ्कर लामिछाने, कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, पुरुषोत्तम सुवेदी, शार्दूल भट्टराई, विमल निभा, नारायण ढकाल, नयनराज पाण्डे, बुद्धि सागर, अभय श्रेष्ठजस्ता तेस्रो पुस्तासम्मका साहित्यकारहरूको नियमित र अनियमित भेटघाट भइरहने नयाँ सडक प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, दरबारका गुप्तचरहरूको आवतजावत भइरहने केन्द्र पनि हो ।
नयाँ सडकको पिपलबोट र भट्टीमा समाजशास्त्रदेखि संविधान, इतिहासदेखि भविष्य, भेनेजुयलादेखि भियतनाम र पहिचानदेखि पारमाणविक भट्टीसम्मको चर्चा हुन्थ्यो । टुँडिखेलदेखि हनुमानढोकासम्म नेपालको पहिलो कालोपत्रे भएको जुद्ध सडक, न्हु सतक, नयाँ सडक, न्युरोड नामले परिचित त्यो ठाउँ चाकरीचुकडी गर्ने थलो पनि थियो । जुद्ध सडकको गेटबाट भित्र छिरेदेखि बिर्तावाल, जमिनदार, सामन्त, धनीमानी र भारदारहरूजस्ता राणाहरूको स्वस्ती र सलाम गर्ने चाकडीबाजहरूको लाइन टुँडिखेलदेखि जुद्ध सडकसम्म हुन्थ्यो । राणाहरू सवारी हुँदा सुन्दरी महिला देखे हजुरियालाई इसारा गरेर तामदान वा बग्गीमा राखेर लाने र रानी बनाउने स्त्री लम्पट राणाहरूको चर्चा पनि पुस्तकमा उल्लेख छ । राणादरबारमा चेलीबेटी लग्ने भारदारहरूलाई घर या थोत्रो गाडी बक्सिस दिएर लोभ्याउने, धम्की दिने राणाहरूको चरित्र उल्लेख गरिएको छ ।
सूचना केन्द्रको रूपमा रहेको न्युरोडमै वि.सं. १९५९ मा गोरखापत्र प्रकाशनको जिम्मा जय पृथ्वीबहादुर सिंहलाई दिइएको थियो । जुद्ध शमशेरको पालामा २००० साल असोज २९ गतेदेखि साताको दुईपटक, २००३ पुस ८ गतेदेखि साताको तीनपटक र २००७ फागुन ८ गतेदेखि ‘गोरखापत्र’ दैनिकको रूपमा प्रकाशन भएको थियो । २००७ फागुन ४ देखि हृदयचन्द्र सिंह प्रधानको सम्पादकत्वमा ‘जागरण’ साप्ताहिक र सिद्धिचरण श्रेष्ठको सम्पादकत्वमा दैनिकको प्रकाशन भएको थियो । न्युरोडको पिपलबोटे चौतारो नेपाली पत्रिकाको बिक्री केन्द्र पनि थियो । केशरबहादुर र कृष्णचन्द्र सिंहले २००२ मा बाङ्गेमुढामा पत्रिका पसल खोलेका थिए । २०११ मा जनकमान श्रेष्ठको सम्पादकत्वमा ‘सही सन्देश’ र सोही वर्षमा ‘समाज’ दैनिक प्रकाशन भएको थियो । पत्रिकामा भारतीय हस्तक्षेप र विस्तारवादको विरोध र उत्तेजनात्मक प्रचार गरियो भनी २०१४ मा सो पत्रिकामा प्रतिबन्ध गरिएको थियो । ‘नयाँ सन्देश’ ले भियतनाम युद्धमा संरा अमेरिकाको पक्षमा समाचार छापेको थियो । २०३५ सालमा पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई सैनिक सरकारले फाँसी दिँदा सोको विरोधमा काठमाडौँमा विद्यार्थी आन्दोलन भएको थियो । नेविसङ्घका बलबहादुर केसी, अनेरास्ववियुका शरणविक्रम मल्ल र नेपाल विद्यार्थी फेडेरेसनका कैलाश कार्कीले जेठ ८ गते दरबारमा गएर आन्दोलन रोक्ने सम्झौता गर्दा जेठ ९ गते तीनै जनालाई नियन्त्रणमा लिएर माफी मगाएको, जुत्ताको माला र थोत्रो बोरा ओढाइ ठेलागाडामा राखी घुमाएको थियो । त्यो सम्झौता नेका, वामपन्थी भनिने सङ्गठनहरूले गरेको बताइन्थ्यो ।

न्युरोडको पिपलबोट राजनीति, साहित्य र विचार मन्थनको केन्द्र पनि थियो । राजनीतिज्ञ र साहित्यकारहरू पिपलबोट गएर विचार मन्थन गर्न पाइएन भने आफूलाई एक्लो परेको ठान्थे । पिपलबोट लेखनाथ पौड्याल, बालकृष्ण सम, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरे, केदारमान व्यथित, भीमनिधि तिवारी, हृदयचन्द्र सिंह प्रधान, रत्नध्वज गिरी आदि लेखक र साहित्यकारहरूको भेटघाट स्थल थियो । क्रान्तिबिना यहाँ स्वच्छ शान्ति हुँदैन विषयक कविता लेख्दा सिद्धिचरण श्रेष्ठ जेलमा परेका थिए । त्यसबेला हरेकमाथि निगरानी हुन्थ्यो; भेला गर्न, बोल्न मात्र होइन लेख्न पाइँदैनथ्यो । त्यही कारण राणा शासनको विरोध भयो र अन्ततः राणा शासनको अन्त्य भयो ।

दशरथ चन्द, टङ्कप्रसाद आचार्य, रामहरि शर्मा र जीवनराज शर्मासमेतको उपस्थितिमा १९९३ जेठ २० गते नेपाल प्रजा परिषद् स्थापना भएको थियो । शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड, धर्मरत्न यमी र केदारमान व्यथितलाई १८ वर्ष, सिद्धिचरण श्रेष्ठलाई १२ वर्ष, पूर्णबहादुर एमए र चित्तधर हृदयलाई ६ वर्ष कैद र मृत्युदण्डको सजाय पाएका पूर्णनारायण प्रधानलाई जन्मकैद गरिएको थियो । राणाविरोधी आन्दोलनमा नेवारहरू सक्रिय थिए । २००४ वैशाखमा नवगठित नेपाली राष्ट्रिय काङ्ग्रेसको आह्वानमा सत्याग्रह सुरु भएको थियो । २००५ सालमा गोपालप्रसाद रिमालको अध्यक्षतामा नेपाल प्रजा पञ्चायत स्थापना भएको थियो । नेपाल प्रजा पञ्चायतले २००५ असोज २६ गते भूगोल पार्कमा सभा गरेको थियो । कार्तिक २१ मा राजा त्रिभुवन स–परिवार भारतीय दूतावास शरण लिन गए । २००७ पुस २० गते जनतालाई तर्साउन भरत शमशेरले गोर्खा दल खोलेका थिए । पुस २२ गते ‘खुकुरी दल’ भन्दै भोटाहिटी असनमा नाङ्गो खुकुरी चलाउँदै प्रदर्शन गरिएको थियो ।

नयाँ सडकदेखि सिंहदरबारसम्मको बाटो जुलुस प्रदर्शन र आमसभा गर्ने थलो भएकोले झडपको केन्द्र हुन्थ्यो । त्यसबेला नेपाल प्रजातन्त्र सङ्घ, विश्व भ्रातृ सङ्घ, नेपाल साम्यवादी सङ्घ, लाल कम्युनिस्ट पार्टी, नेपाली विद्यार्थी युनियन, नेपाल विद्यार्थी फेडरेसन, नेपाल छात्र सङ्घ, संस्कृति छात्र सङ्घ आदि खोलेका थिए । २००८ कार्तिक २० गते विद्यार्थीहरूको प्रदर्शनमा गृहमन्त्री बीपीले गोली चलाउन आदेश दिँदा चिनियाँ काजी श्रेष्ठको मृत्यु भएको थियो । उनको शवयात्रामा नेकाको झन्डा जलाइएको थियो । उक्त घटनापछि नारायणहिटी राजदरबारमा राजा त्रिभुवनको अध्यक्षतामा भएको असाधारण बैठकमा राजाका सेक्रेटरी भारतीय नागरिक गोविन्द नारायण र बीपी कोइरालाबिच चर्काचर्की भएको थियो । बीपीले गोली चलाउन दिएको भनी उनको राजीनामा माग भएको थियो । राजा महेन्द्रको ‘कू’ को विरोधमा नेकाका युवा नेतृहरू शैलजा आचार्य, नोना कोइराला, कवयित्री कुन्दन शर्मा र गौरी राणाको नेतृत्वमा नयाँ सडकमा प्रदर्शन हुँदा सारी च्यातेर कालो झन्डा बनाइएको थियो । २०१७ को ‘कू’ पछि बीपी जेलमा गए भने पुष्पलाल श्रेष्ठ भारत प्रवासमा गए । २०१८ मा सुवर्ण शमशेरले नेकाको तर्फबाट सशस्त्र क्रान्ति गर्ने घोषणा गरेका थिए । सशस्त्र सङ्घर्षको लागि खटेका जगतप्रकाशको हत्या भएको थियो । २०४६ साल फागुन ७ गतेदेखि जनआन्दोलन सुरु भएको थियो । आन्दोलन चरमोत्कर्षमा पुगेर २०४६ साल चैत २६ गते बहुदलीय व्यवस्था पुनः स्थापना भएको थियो र चैत २७ गते खुला मञ्चमा सभा भएको थियो ।
नयाँ सडकमा रहेका भट्टीहरू काव्य गोष्ठी हुने केन्द्र हुन्थ्यो । साहित्यकारहरू भेट्ने केन्द्र हुन्थ्यो । भट्टीमा साहित्यिक गतिविधि धेरै हुन्थ्यो । रक्सी भट्टीबाटै साहित्यकार जन्मेको उनीहरूको दाबी छ । त्यसबेला खुला गतिविधि गर्न पाइँदैनथ्यो । लेख रचनामा सेन्सर हुन्थ्यो । त्यसकारण साहित्यकारहरूले लेख रचना दिएर सरकारलाई सहयोग नगर्ने, ‘मदन’ पुरस्कार ‘दान’ भएकोले नलिने, आफ्नो विचार र लेख रचना बाहिर ल्याउन आफैले पत्रिका निकाल्ने काम गरे । त्यसबेला ‘सिउँदी’ नामको सामयिक सङ्कलन प्रकाशन भएको थियो । २०२७ सालमा भवानी घिमिरेको अध्यक्षतामा साहित्यिक पत्रकार सङ्घ गठन भएको थियो । २०३६ जेठ २७ मा पिपलबोटबाटै सडक कविता क्रान्ति भएको थियो । यसरी पञ्चायती व्यवस्थाविरुद्ध खुला र गुप्त अनेक गतिविधि भइरहन्थ्यो । पञ्चायती शासकविरुद्ध सडकबाटै ‘बुट पालिस’ आन्दोलन यसको अर्काे दृष्टान्त थियो । २०१२÷०१३ सालतिर सदानन्द शर्माले पहिलो पटक सडकमा बसी जुत्तामा पालिस लगाएर विरोधको स्वर सल्काएका थिए । त्यो आन्दोलनमा वामपन्थी साहित्यकारहरूको संलग्नता थियो । जुत्तामा पालिस गर्न दिने पहिलो व्यक्ति पत्रकार मञ्जुरत्न शाक्य थिए । उनको जुत्ता शैलेन्द्र साकारले पालिस गरेका थिए । बुट पालिसबाट सङ्कलन भएको रकम नयाँ सडकस्थित राष्ट्रिय वाणिज्य बैङ्कको खातामा जम्मा गरिएको थियो । प्राध्यापकबाट निष्काशन गरिएको विरोधमा दुर्गा पोखरेलले दुई सातासम्म व्यङ्ग्यस्वरूप बुट पालिस गरेका थिए । पञ्चायती चुनावको खिल्ली उडाउन २०३६ मा पालिस गर्नेलाई उम्मेदवारी दिने योजना साहित्यकारहरूले बुने । जुत्ता पालिस गर्ने मान्छे नगरपालिकाको प्रमुखमा उम्मेदवार दिने चर्चा भयो काले सार्कीको ।

कृतिमा ‘साइकल युगमा मोटरसाइकल चढ्नेको कथा’ को प्रसङ्गको पनि छ । १९९० मा साइकल चढ्नेहरू कि भारदार हुन्थे कि त दरबार निकटमा मान्छेहरू हुन्थे । राणाहरू साइकललाई उत्ताउलो मान्थे । १९६० वि.सं. तिर नेपालमा साइकल भित्रिएको थियो । साइकलको पहिलो पसल अष्टनारायण मानन्धरले खोलेका थिए । मोटरसाइकल चढ्ने पहिलो पुस्ता राणा, राणाका दरबारिया, भारदार, व्यापारी र सरकारी जागिरेहरू थिए । मोटरसाइकल चढ्ने पहिलो साहित्यकार बालकृष्ण सम थिए । उनले १९९७ मा श्रीमतीको गहना बेचेर मोटरसाइकल किनेका थिए । कवि द्वारिकालाल श्रेष्ठ स्कुटर चढ्ने पहिलो साहित्यकार थिए ।
एकेडेमी, साझा प्रकाशन, सम्पादक, प्रेसको काम गर्ने हरिभक्त कटुवाल नाम र बदनाम कमाउने कविको रूपमा देखियो । जागिर भए पनि रक्सी खाएर हल्लिने कटुवाल खाएकै ठाउँमा ढल्ने चरित्रका थिए । साहित्यसम्बन्धी राष्ट्रव्यापी सेमिनार (२०२३) मा कविता वाचन पछि सर्टका टाँक ध्र्वार उधार्ने, नाटकको समीक्षामा विवाद हुँदा भातको थाल उठाएर प्रहार गर्ने उनी रक्सी पिएर ‘सडक कविता क्रान्ति’ मा माग लिने कवि हुन् ।

क्रान्तिकारी, अराजक माक्र्सवादी, कवि, कथाकार सन्तोष भट्टराई रक्सीले बदनाम भएका अर्का साहित्यकार हुन् । मर्वैता बहुमुखी क्याम्पसका प्रमुखलाई पिट्ने, साहित्यिक कार्यक्रममा बालकृष्ण समले बोलिरहँदा मञ्चमा पुगेर यस्तो पनि दौरा भनी तुना तान्ने, अरु लेखकलाई पाखण्डी भन्ने उग्र स्वभावका भट्टराईले पनि सडक कविता क्रान्तिमा नौ दिनसम्म कविता वाचन गरेका थिए । गोरखापत्रमा काम गर्दा रक्सी पिएरै कार्यक्रम छिरेकै कारण उनलाई रक्सी पिएर आए भित्र पस्न नदिन आग्रह गरिएको थियो । यसरी कवि, कलाकार, साहित्यकार, संस्कृतिकर्मी र राजनीतिज्ञहरूसमेत रक्सी पिएर थला परेर बदनाम भएका थिए । कति साहित्यकार र राजनीतिज्ञहरू रक्सी र धूमपानकै कारण बितेका थिए, आत्महत्या गरेका थिए ।

‘तीन मित्र तीन शैली’ शीर्षकको लेखमा विलम निभा, नारायण ढकाल र राजवको साहित्यिक विशेषता उजागर गरिएको छ । विमल निभा शिल्प र पत्रिका निकाल्ने पत्रकार हुन् । भारतले सुस्तामा सीमा मिच्दा विमल निभा पक्राउ परेका थिए । भारतले सिक्किम विलय गरेको विरोधमा प्रदर्शन गर्दा राजव पक्राउ परेका थिए ।

पिपलबोट धाउने साहित्यकारहरूको पुस्तक विमोचन नै भट्टीमा हुन्थ्यो । पिपलबोटमा जुत्ता सिउनेदेखि पत्रिका बेच्नेसम्म गुप्तचर हुन्थे । त्यसबेला हनुमानढोकाको राजनीतिक अनुसन्धान शाखा, दरबार, सेना र अनुसन्धान विभागको छुट्टै गुप्तचरी हुन्थ्यो । नयाँ सडकमा जासुस पठाउने काम राणा शासकहरूले थालेका थिए । गङ्गालालको निवास स्थल प्याफल र गणेशमान सिंहको निवासस्थल यट्खा, इन्द्रचोक, असन, भोटाहिटी र यङ्गलमा गुप्तचरी हुन्थ्यो । प्रजा परिषद्बारे राणा शासकहरूलाई सूचना दिनेहरूमा वाक्पतिराज जोशी, टेकबहादुर मल्ल र द्वारिकाभक्त माथेमा थिए । जोशी सहिद शुक्रराज शास्त्रीका भाइ थिए । धर्मभक्त माथेमाको जाजुसी द्वारिकाभक्त माथेमाले गर्थे । यसरी शासकहरू आफै नातेदारहरूलाई जासुसी बनाउँथे । जासुसहरू बिहानदेखि रातिसम्म खट्थे । सडक कविता क्रान्तिमा माइक बोक्ने व्यक्ति नै जासुसी हुन्थ्यो । तिनै जासुसीहरूबाट राजनीतिक, साहित्यिक, सांस्कृतिक गतिविधिको सबै कुरा दरबारमा पुग्थ्यो । यसैको आधारमा कसैलाई छल्ने, फसाउने, फुटाउने, झगडा गराउने षड्यन्त्र हुन्थ्यो । अतः ‘जङक्सन पिपलबोट’ पुस्तक विभिन्न जानकारी दिने खोजमूलक कृति हो ।

पुस्तकको प्रकाशन फिनिक्स बुक्स बानेश्वरले गरेको छ । पुस्तकको भाषा शैली सरल र बुझ्न सजिलो छ । वाक्यहरू छोटा मिठा छन् । पुस्तक पढेपछि पढ्न छोड्न मन लाग्दैनथ्यो । पुस्तक धेरै अध्ययन, खोजीनीति र मेहनत गरेर प्रकाशित गरेको आभास हुन्छ । त्यस्तै, खोजमूलक अन्य कृतिहरू प्रकाशन गर्ने पाठकले आशा गर्नु स्वाभाविक हो । लेखक प्रकाश गुरागाईँ र प्रकाशक फिनिक्स बुकलाई साधुवाद !

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *