शाङ्घाईतिर – १०
- माघ २२, २०८०
क्यान्सर के हो ?
मानव शरीर विभिन्न किसिमका कोषहरू मिलेर बनेको हुन्छ । यी कोषिकाहरूको आफ्नै स्थानअनुसारको विशेषता हुनुको साथै हरेक कोषको कुनै निश्चित समयपछि नष्ट हुने नियमित प्रक्रिया मानव शरीरमा हुने गर्दछ । यदि शरीरको कुनै पनि अङ्गमा कोषहरू अनियन्त्रितरूपमा बढ्दै गएर आफूसँग नजिक भएको अङ्गमा पनि बढ्दै जानु क्यान्सर हो । क्यान्सर रोग विश्वमा हुने विभिन्न मृत्युका कारणहरूमध्ये दोस्रो स्थानमा पर्दछ । विभिन्न किसिमका भाइरस, ब्याक्टेरियाबाट सङ्क्रमण हुनु (cytomegalo virus, human papilloma virus, hepatitis B, hepatitis C, helicobacter pylori), रसायन पदार्थ, चुरोट, बिडी जस्ता सुर्तीजन्य पदार्थ, वंशानुगत, खानपिन, जीवनशैली तथा सूर्यको विकिरण आदि क्यान्सरका कारणहरू हुन सक्छन् ।
क्यान्सर कसरी थाहा पाउने ?
सामान्यतया क्यान्सरका लक्षणहरूलाई निम्न बुँदाहरूबाट थाहा पाउन सकिन्छ :
– निरन्तर सुख्खा खोकी लाग्नु र आफ्नो स्वरमा परिवर्तन आउनु
– घाउ चोट पटक लामो समयसम्म निको नहुनु
– खाना राम्रोसँग पचाउन नसक्नु, पेट दुख्नु, मलद्वारबाट रगत आउनु
– पिसाबमा रगत देख्नु
– शरीरमा कुनै किसिमका गाँठागुठीहरू बढ्नु
– रातिको समयमा धेरै पसिना आउनु
– शरीरको वजन घट्दै जानु, खाना रुचि नहुनु
– महिनावारी सुकेका महिलाहरूमा योनीबाट रगत बग्नु
क्यान्सर रोग समयमा नै पत्ता लगाउन सकेको खण्डमा पूर्णरूपमा उपचार गर्न सकिन्छ । क्यान्सरको उपचार विधि धेरै नै महँगो भएको कारणले क्यान्सर रोग लाग्न नदिनुको साथसाथै चाँडो रोग पत्ता लगाउन समय समयमा शरीरको सामान्य जाँच गर्नु पर्दछ ।
क्यान्सरबाट बच्न गर्नुपर्ने सामान्य कुराहरू :
– चुरोट बिडोजस्ता सुर्तीजन्य वस्तुहरूको सेवन गर्नुहुँदैन, यसले फोक्सोको र मुखको क्यान्सर हुने सम्भावना बढी हुने गर्दछ ।
– घाममा लामो समयसम्म काम गर्दा सबै छाला ढाकिने गरी सुरक्षित लुगा लगाउनु पर्दछ ।
– खेतीपातीमा काम गर्ने किसानहरूमा क्यान्सर रोग धेरै भेटिएको कारणले खेतमा Insecticide लगाउँदा आफूलाई जोगाउन राम्रोसँग मास्क, चस्मा, पन्जा, बुठ जुत्ताको प्रयोग गर्नुको साथै आवश्यक मात्राको Insecticide मात्र प्रयोग गर्ने पर्दछ ।
– महिलाहरूलाई हुने पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा भएकोले किशोर अवस्थाको महिलाहरूलाई Human Papiloma Virus विरुद्धको Vaccine दिनु पर्दछ । चाँडो रोग पत्ता लगाउन Pap Smear Test हरेक वर्ष गर्नुपर्दछ ।
– स्तन क्यान्सर महिलाहरूमा हुने अर्को प्रमुख क्यान्सर भएको कारणले महिलाहरूले हरेक महिनाको महिनावारी भएको चार दिनमा आफ्नो स्तन आफैँले Palpate (हातले छाम्ने) गरी जाँच गर्ने पर्दछ । यसरी जाँच गर्दा दुवै स्तनको कालो भाग वरिपरिबाट छाम्दै गएर काखीको मुनिसम्म गर्नुपर्छ । यदि कुनै गाथागुठी भएमा तुरुन्तै डाक्टरको सम्पर्कमा जानुपर्छ ।
– यदि अपच हुने, पेट दुख्ने, थकाइ लाग्ने आदि समस्या भएमा, दिसामा रगत गएको छ कि छैन भनेर थाहा पाउन दिसाको साधारण stool occult blood test गर्नुपर्छ ।
– क्यान्सर एउटा वंशानुगत रोग पनि हो । वंशानुगतलाई हामीले रोक्न सक्दैनौँ । यदि कुनै परिवारमा वंशानुको कारणले क्यान्सर रोग लागेको पत्ता लागेमा रोगको संवेदनशिलतालाई ध्यानमा राखेर बाँकी परिवारको पनि नियमित स्वास्थ जाँच गर्नुपर्दछ । जस्तो कि यदि अन्डाशयको क्यान्सर वंशानुगत पाए, चाडै परिवार योजना गरेर अन्डाशय अपरेसन गरेर फाल्ने पनि गरिन्छ ।
– पोलेको काँचो मासु खाने बानीले हाम्रो शरीरको आन्द्राको क्यान्सर बढाउने कारणले यस्तो खाना सेवन गर्नुहुँदैन ।
अन्तमा, क्यान्सर पहिचान गर्न विभिन्न सामान्य विधिहरू अपनाउन सकिन्छ । जस्तै निश्चित प्रकारका क्यान्सरलाई आत्म परीक्षणबाट पनि थाहा पाउन सकिन्छ । नियमितरूपमा स्किनिङ परीक्षण जस्तै म्यामोग्राफी (mammography) , प्याप स्मियर (Pap smears), प्रोस्टेट ग्रन्थी (Prostate) को लागि PSA test, पारिवारिक जोखिम मूल्याङ्कन (genetic testing) र आन्तरिक दृश्यका लागि एक्स रे वा एमआरआइजस्ता परीक्षणहरूबाट सामान्यतया क्यान्सर थाहा पाउन सकिन्छ । उमेर, लिङ्ग र व्यक्तिगत जोखिमका आधारमा उपयुक्त स्किनिंग गर्नु क्यान्सर थाहा पाउने प्रारम्भिक सही स्वास्थ्य परीक्षण हुनेछ जसले सम्भावित व्यवस्थापनलाई ठुलो टेवा पु¥याउँछ । उमेरअनुसार खानपिन र जीवनशैलीलाई परिवर्तन गर्दै जानु नै सम्भावित क्यान्सर र रोगको जोखिमबाट बच्ने सामान्य उपाय हुन सक्छ ।
Leave a Reply