तरकारीको मूल्य आकाशिँदा जनताको जीवन कष्टर

  • मंसिर ७, २०७८

काठमाडौं, ७ मंसिर । बेमौसमी वर्षाको कारण तरकारीको मूल्य अचाक्ली बढेको छ । बेमौसमी वर्षा र समुद्री आँधीको कारण तरकारी आपूर्तिमा कमी आएपछि भारतीय बजारमा पछिल्लो समय गोलभेडाको मूल्य झन्डै दोब्बर गुणाले बढेपछि नेपालमा पनि गोलभेडाको मूल्य एकाएक बढेको छ । केही समयअघि प्रतिकिलो तीस रुपैयाँ बेचिँदै आएको गोलभेडा हाल बजार मूल्य १३० रुपैयाँ पुगेको छ । कालीमाटी तरकार तथा फलफूल बजारको सोमबार प्राप्त मूल्यसूचीअनुसार ठूलो गोलभेडा (नेपाली र भारतीय) को थोक मूल्य औसत १०५ रुपैयाँ छ । त्यस्तै सानो गोलभेडा (लोकल) को औसत थोक मूल्य ७५ रुपैयाँ र टनलको ९० रुपैयाँ पर्ने सूचीमा उल्लेख छ ।

गाजरको मूल्यमा पनि निकै आकाशिएको छ । स्थानीय गाजरको थोक मूल्य औसत १६५ रुपैयाँ पुगेको छ । त्यस्तै तराईको गाजरको प्रतिकिलो औसत ११५ रुपैयाँ पुगेको छ । हरियो केराउको मूल्य प्रतिकेजी १७० रुपैयाँ पुगेको छ भने ताते सिमी प्रतिकिलो १३० रुपैयाँ पुगेको छ । करेला प्रतिकिलो मूल्य औसत १२५ रुपैयाँ पुगेको छ ।

सागको मूल्य पनि बजारमा निकै बढेको छ । मेथीको साग प्रतिकेजी ११० रुपैयाँ, पालुङ्गोको साग प्रतिकेजी १३५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ स्रोतले बताएको छ । भारतमा केही समयअघि प्रतिकिलो भारु ५० पर्ने गोल्भेडा हाल १ सय भारु पुगेको त्यहाँका समाचार स्रोतले जनाएको छ ।

कृषिप्रधान देश नेपाल अझै तरकारीमा भारत निर्भर छ । नेपालले भारतबाट वार्षिक रुपमा ३७ करोडभन्दा बढी भारु बराबरको आलुमात्र आयात गर्ने गरेको तथ्याङ्कले देखाएको छ । विशेषतः व्यवस्थित र व्यावसायिक वैज्ञानिक तरकारी खेती नहुनु र तरकारी खेती गरिने जमिनमा घर र सहर बन्दै गएकोले तरकारी र फलफुलको लागि नेपालको परनिर्भता अझ बढ्ने देखिन्छ । अधिकाशं तरकारी बाहिरबाट आयात गर्दा बजार मूल्यमा नेपालको प्रभाव कम हुनु स्वाभाविक हो ।

दैनिक खाने तरकारी अचाक्ली मूल्यवृद्धि हुँदा सर्वसाधारणको भान्छा प्रभावित बनेको छ । कोभिड–१९ को विश्वव्यापी महामारीको कारण अर्थतन्त्रमा परेको ऋणात्मक प्रभावबीच बजार मूल्य अचाक्ली बढ्दा जनतालाई बाँच्न मुस्किल भएको छ । पछिल्लो समय नेपाल आयल निगमले एकै महिनामा पटक पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दा अर्थतन्त्रका अन्य क्षेत्रसँगै उपभोग्य वस्तुको मूल्य पनि आकाशिएको छ । विशेषतः सहरी क्षेत्रमा भान्छामा ग्यास बाल्ने व्यापकतासँगै ग्यासको मूल्यमा भएको भारी मूल्यवृद्धिले पनि न्यून आयका जनताको जीवन कष्टकर बनेको छ ।

बजार मूल्य नियन्त्रणको निम्ति जिम्मेवारी सरकारी निकायले बजारमा मूल्यमा भएको अराजकता र जनताले भोग्नुपरेको समस्याप्रति उदासीन देखिएको छ । सरकारले बजार मूल्य अनियन्त्रित बन्दा पनि केही पहल गरेको देखिँदैन । सरकारले तरकारीलगायत दैनिक उपभोग्य वस्तु सस्तोमा बजारमा उपलब्ध गराउन दीर्घकालीन र अल्पकालीन योजना ल्याउनुपर्ने विज्ञहरु बताउँछन् । देशलाई तरकारीजस्तै आधारभूत उपभोग्य वस्तुमा आत्मनिर्भर बनाउन व्यवसायिध खेतीको प्रवद्र्धन गर्नमा जोड दिइनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *