बेनी, बागलुङ बजार र कुश्मामा एमसीसी विरुद्ध जुलुस

  • मंसिर ४, २०७८

बेनी, मंसिर ३ गते । एमसीसीविरोधी देशघाती सम्झौताविरुद्ध देशव्यापी जनजागरण अभियानअन्तर्गत नेपाल मजदुर किसान पार्टीको आयोजनामा म्याग्दी, बागलुङ र पर्वत जिल्लामा प्रदर्शन तथा विरोधसभा सम्पन्न भएको छ ।

बेनी बजार
बेनी बजारमा आयोजित सभालाई नेमकिपा केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले सम्बोधन गर्नुभएको थियो । उहाँले अमेरिकी र भारतीय सल्लाहकारहरुसँग अकस्मात् भेटघाट गर्न प्रचण्डले आफू बिरामी भएको नाटक गरेको आशंका व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “रामदेवमार्फत् भारतीय विस्तारवादले नेपाली शासक दलका नेताहरुलाई आफ्नो अधीनमा राखेको छ ।” नेमकिपा देशभक्त पार्टी भएको चर्चा गर्दै उहाँले पदको लोभमा नफँसी पार्टीले जनताको आवाज बुलन्द गर्दै आएको बताउनुभयो ।

देशघाती काममा उनीहरुले सधैँ कथित राष्ट्रिय सहमति जुटाउँदै आएको जानकारी गराउँदै नेक्राविसंघ केन्द्रीय सहसंयोजक सुरेश परियारले भन्नुभयो, “नेपालका शासक दलहरु नामले मात्र फरक हुन्, कामले तिनीहरु एउटै पार्टी हुन् ।” सभामा नेक्राविसंघ केन्द्रीय सदस्य हृदय दहालले संचालन गर्नुभएको थियो । न्यूरोडबाट सुरु भएको जुलुस वीरेन्द्र चोक हुँदै अस्पताल चोकमा गई सभामा परिणत भएको थियो ।

बागलुङ बजार
बागलुङ बजारको ट्राफिक चोकबाट सुरु भएको देशघाती एमसीसी सम्झौताविरोधी विरोध जुलुस बसपार्क, धौलागिरी अस्पताल हुँदै बागचोकमा गएर सभामा परिणत भयो ।

सभामा बोल्दै नेमकिपा केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले शासक पार्टीहरुले केही संशोधन गरेर पारित गर्नुपर्ने बताएको औँल्याउँदै भन्नुभयो, “एमसीसीको संशोधनले देश र जनताको हितमा हुँदैन ।” अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध नगर्ने पार्टी जनताको पार्टी नहुने चर्चा गर्दै उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादको रणभूमि भयो भने सबैले पछुताउनुपर्नेछ ।”

सभामा नेक्रायुसंघका मीनबहादुर बाटा र नेक्राविसंघका सुरेश परियारले पनि बोल्नुभएको थियो । कार्यक्रमको संचालन नेक्रायुसंघका सरोज दुलालले गर्नुभएको थियो ।

कुश्मा
कुश्मा बजारको दुर्लुङ चोकबाट सुरु भएको एमसीसी सम्झौताविरोधी जुलुस धनेश्वर चोकमा गई विरोध सभामा परिणत भयो ।

कार्यक्रममा बोल्दै नेमकिपा केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले भन्नुभयो, “बाइडेन संसारकै सबभन्दा ठूलो आतंककारी भनेर चिनिन्छन् ।” संरा अमेरिका मुखले एउटा कुरा गर्ने र व्यवहारमा अर्को कुरा देखाउने देश भएको चर्चा गर्दै उहाँले एमसीसीमार्फत् नेपाललाई भारत र अमेरिकाको उपनिवेशमा फेर्ने बताउनुभयो । सभामा बोल्दै नेक्राकिसंघका सचिव हरिराम सुवालले एमसीसी सम्झौता राणा शासकहरुले गरेको १९५० को सन्धिसँग तुलना गर्दै एमसीसीका घातक प्रावधानहरुबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेक्रायुसंघका रमेश वैद्यले पनि बोल्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *