गोर्खा दरबारमा एमसीसी विरुद्ध जुलुुस

  • मंसिर ३, २०७८

गोर्खाबजार, मंसिर २ गते । एमसीसीविरोधी देशघाती सम्झौताविरुद्ध देशव्यापी जनजागरण अभियानअन्तर्गत नेपाल मजदुर किसान पार्टीको आयोजनामा गोर्खाबजारमा प्रदर्शन तथा विरोधसभा सम्पन्न भएको छ । हरमटारीको पेट्रोल पम्पबाट सुरु भएको जुलुस, बसपार्क, हस्पिटल चोक, ठूलो आँगन हुँदै हरमटारी चोकमा गएर विरोध सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेमकिपा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले नेमकिपाले वर्तमान सरकारले पेट्रोलियम पदार्थमा गरेको अचाक्ली मूल्यवृद्धिको विरोध गर्नुभयो । नेमकिपा विगत ३ वर्षदेखि एमसीसीविरोधी संघर्षमा रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले भारतीय विस्तारलाई प्रयोग गरेर नेपाललाई नवउपनिवेश बनाउने षड्यन्त्र गर्दै छ । एमसीसी पारित गर्नु भनेको नेपाललाई अमेरिकी साम्राज्यवादको एउटा निगमको मातहत राख्नु हो ।” हिन्द प्रशान्त रणनीतिलाई अमेरिकी साम्राज्यवादको पतनको छटपटाहटको परिणाम भनी बुझ्नुपर्ने जनाउँदै उहाँले विदेशी शक्तिसामू झुक्न खोज्ने शासकहरुविरुद्ध जनतालाई संघर्ष गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय सचिव सुवालले एमसीसीका देशघाती प्रावधानहरुको चर्चा गर्नुभयो । उहाँले नेपाली शासकहरुले पालैपालो सत्तामा गएर देशघाती सन्धि सम्झौता गरेको हुनाले जनताहरु उनीहरुविरुद्ध राजनीतिक संघर्षमा होमिनुपर्ने जिकिर गर्नुभयो । बसपार्कमा भएको कोणसभामा बोल्दै नेपाल क्रान्तिकारी युवा संघका मिनबहादुर बाटाले एमसीसीलाई बीआरआईसँग तुलना गर्ने बुद्धिजीवीहरुको कुप्रयास सफल नहुने बताउनुभयो । बीआरआई विश्वभरका जनताको साझा विकासको निम्ति ल्याइएको परियोजना भएको बताउँदै उहाँले एमसीसीले नेपालको सार्वभौमिकतामा आँच आउने चर्चा गर्नुभयो ।
नेमकिपा गोर्खा जिल्ला अध्यक्ष प्रह्लाद लामिछानेले स्वागत गर्नुभएको सभालाई नेक्राविसंघ केन्द्रीय सदस्य हृदय दहालले संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *