“समाजवादी व्यवस्थामा मात्र कामदार जनताले सुख पाउने”-प्रेम सुवाल

  • कार्तिक ३०, २०७८

बाँके, २९ कार्तिक । १०४ औं महान् अक्टोबर समाजवादि क्रान्ति दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितीको आयोजनामा सोमबार प्रवचन कार्यक्रम भयो ।

कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले समाजवादी व्यवस्थामा मात्र कामदार जनताले सुख पाउने चर्चा गर्दै भन्नुभयो, “समाजवादी व्यवस्था, उपचार निःशुल्क, रोजगारीको सुनिश्चितता,विदेशी ऋणको भार बोक्न नपर्ने, सबै उद्योग र कलकारखाना राष्ट्रियकरण हुने, महिला र पुरुषको समान ज्यालाको बन्दोबस्त हुने बताउनुभयो ।

अक्टोबर क्रान्तिजस्तै नेपालमा पनि समाजवादी क्रान्तिको लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउदै सचिव सुवालले समाजवादी व्यवस्थामा मात्र महिला मुक्ति सम्भव भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा जाने शासक दलहरु सबै पुँजीवादी हुन् । नाम फरक भए पनि उनीहरुको कार्यशैली र व्यवहार समान छन् । ”

शासक दलहरु भारतीय एकाधिकार पुँजीको गोटी भएको उहाँले उल्लेख गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्किारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले साम्राज्यवादी देशहरुको मुख्य उद्देश्य हतियार बेच्ने भएकाले तिनीहरु युद्ध थोपार्न चाहन्छन् भन्नुभयो ।

चुनावबाट क्रान्ति सम्भव नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “क्रान्तिकारी विचार , क्रान्किारी नेतृत्व र क्रान्तिकारी पार्टिले मात्र समाजमा आमूल परिवर्तन ल्याउन सक्छ भन्ने कुरा अक्टोबर समाजवादी क्रान्तिले सिकाएको छ । ”

नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले काल्पनिक समाजवाद, माक्र्सवाद, द्धन्द्धात्मक भौतिकवाद र अक्टोबर समाजवादी क्रान्तिबारे जानकारी दिनुभयो ।

अञ्जिरबहादुर शाहीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा दैलेखका केशेन्द्र कार्की, नेमकिपा बाँकेका गौरीकान्त आचार्य, नेक्रामहिला सङ्घका सुलोचना छ्वाजु र खड्गराज थापाले बोल्नभएको थियो ।

नेमकिपा बाँके जिल्ला सदस्य गोमा शाहिको सम्झनामा सोमबार श्रद्धाञ्जली सभा भयो । नेक्रामहिला सङ्घ बाँके जिल्ला समितीको आयोजनामा भएको उक्त सभामा बखत थापा,केशेन्द्र कार्की, गौरीकान्त आचार्य, अञ्जीरबहादुर शाही, जर्मकन्या रोकाया र कोकिला शाहीले दिवङ्गत शाहीको योगदानबारे बोल्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *