वश तस्बिर थपियो ! वश तस्बिर फेरियो !

  • कार्तिक १२, २०७८

बाग्मती प्रदेश मुख्यमन्त्रीको कार्यालयको भित्तामा अर्काे एक जना व्यक्तिको तस्बिर थपिएको छ । डोरमणि पौडेलको राजीनामापछि मुख्यमन्त्री बनेका ‘नेपालका प्रथम महिला मुख्यमन्त्री’ अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीमा दिएपछि बिहीबार राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् । पाँच वर्षको कार्यकालमा पाण्डे तेस्रो मुख्यमन्त्री हुन् भने एकीकृत समाजवादी र नेकाबीच भएको सहमतिपछि निकट भविष्यमा नेकाका नेता मुख्यमन्त्री बन्ने सम्भावना टरेको छैन । पाँच वर्षमा चार जना मुख्यमन्त्री बन्ने भए पनि बाग्मति प्रदेशका जनताले अझै पनि आफ्नो जीवनमा प्रदेश सरकारको अनुभव गर्न पाएका छैनन् । हाजिरीजवाफमा भाग लिनबाहेक मुख्यमन्त्री र प्रदेश मन्त्रीहरुको नाम पनि कसैलाई कण्ठ हुने अवस्था छैन । त्यसकारण, प्रदेश सरकारको उपादेयता शासक दलका सांसदहरुको भागशान्ति र मनको रहर पूरा गर्नमै सीमित देखिएको छ ।

मुख्यमन्त्री बन्ने लोभमा शासक दलका कतिपय नेताहरु प्रदेशको चुनाव लडेका थिए । बाग्मति प्रदेशको सन्दर्भमा विशेषतः एमालेका अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने लोभमै प्रदेश तहमा चुनाव लडेका थिए । शाक्य र पाण्डेबीच मुख्यमन्त्रीको पदको निम्ति आपसी छिनाझम्टी पनि भयो । त्यही बीचमा ओलीका ‘प्यारा’ डोरमणि पौडेल मुख्यमन्त्री बने । अनिश्चित राजनीतिको चक्रमा अहिले मुख्यमन्त्री बन्ने आकाङ्क्षा बोकेको दुई नेताहरुको पनि मनको रहर पूरा भएको छ । हुँदाहुँदा पाँच वर्षको लागि प्रतिपक्ष बेन्च कुर्ने ठेक्का पाएका नेकाका नेताहरुले समेत अहिले दौरा सुरुवालमा ठाँटिएको तस्बिर प्रदेशका मन्त्रालयका भित्तामा झुन्ड्याउन पाएका छन् । केही दिनकै भए पनि मन्त्रीको धक्कु लगाउन पाएका छन् । शासक दल सबै खुसी छन् । पालैपालो घुम्ने मेचमा बस्न पाएर उनीहरु मख्ख छन् । अहिले मौका नपाएकाहरु पनि अब आफ्नो पालो भन्दै खुसी छन् ।

तर, जनताले भने प्रदेश तहको अस्तित्व र महत्व अझै बुझ्न सकेका छैनन् । प्रदेश सरकार नहुँदा आफ्नो दिनचर्यामा के फरक पर्छ भन्ने कुरा उनीहरुलाई थाहा छैन । त्यसकारण प्रदेश तह शासक दलका धेरै नेताहरुबीच भागशान्ति गर्ने थलोमात्र बनेको छ । बरु राज्यको लागि बोझ बनेको छ । जनताको लागि संरचनागत अन्योल बनेको छ । सङ्घीयता अर्थ न बर्थ, गोविन्द गाई बनेको छ । सङ्घीयताले देशमा विकास र जनताले अधिकार पाउने कुरा झूटमात्र सावित भएको छ । खोइ, प्रदेश तहले कुन जनतालाई के अधिकार दिन सक्यो ? विकेन्द्रीकरणको सुविधा खोइ कहाँ अनुभव गरियो ?

कवि चन्द्रबहादुर उलकले लेख्नुभएको छ, “असल मनसायले अघि बढे पनि अबोध हृदयमा चोट प¥यो ।” सङ्घीयता आज उस्तै बनेको छ । राम्रो मनसाय र लक्ष्यले सङ्घीयता संविधानमा संस्थागत गरियो । तर, शासक दलका स्वार्थी र लोभीपापी नेताहरुको कारण सङ्घीयता जनताको अबोध हृदयको चोटसिवाय केही हुन सकेको छैन । सिंहदरबारभित्र सीमित सांसदहरुको ‘फाइट सिन’ अहिले सात वटा सिंहदरबारमा देखिँदै छ । अधिकार होइन, जनताले विकृतिका सपाट दृश्य नजिकबाट हेर्न पाएका छन् ।

भित्ताहरुमा तस्बिरहरु थपिने क्रममा फेरि अर्काे तस्बिर थपिएको छ । ‘त्यो तिमी नै होला भन्ने मेरो यौवनभरको आश थियो’ भन्ने गोपालप्रसाद रिमालको कविताजस्तै प्रदेशप्रतिको जनताको अपेक्षा पानीको फोका सावित भयो । वश, तस्बिर थपियो । वश तस्बिर फेरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *