भर्खरै :
भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु | नेमकिपा काठमाडौँ जिल्लाको सातौँ जिल्ला सम्मेलन सुरू – कम्युनिस्टको बदनाम नक्कली कम्युनिस्टहरूले गरे | इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी | अमेरिकाको सुरक्षामाथि फेरि प्रश्न |

कौसी खेती प्रविधि

  • सबिन ख्याजू
  • आश्विन १९, २०७८

पृष्ठभूमि
घरको कौसी, बरण्डा, भित्ता आदिमा गरिने खेतीलाई कौसी खेती भनिन्छ । कौसीमा गरिने खेतीमा तरकारी, फलफूल, मसलाबाली, जडिबुटी आदि पर्दछन् । सहरी क्षेत्रमा खेतीयोग्य जग्गाको अभावका कारण कौसी खेतीको अवधारणा विकसित भएको हो । रासायनिक विषादीयुक्त फलफूल र तरकारीले मानव शरीरमा नकारात्मक असर पु¥याउने गरेको कारण कौसीमा आफै प्राङ्गारिक खेती गर्न आवश्यक भएको हो । घरबाट निस्कने कुहिने फोहोर वस्तुलाई कम्पोष्ट बनाएर प्रयोग गर्न, भान्साको खर्च घटाउन, खेर गइरहेको घरको छतलाई सदुपयोग गर्न कौसी खेतीले चर्चा पाएको हो । मानिसहरुमा विकसित चेतनासँगै व्यक्तिदेखि सरकारी तहसम्म यसको आवश्यकताबोध गर्न थालिएको छ ।

कौसी खेतीका प्रमुख उद्देश्यहरु
— शहरी क्षेत्रमा खेतबारीको अभाव हुने हुनाले दैनिक उपभोग्य वस्तु उत्पादनको लागि कौसीमा खेती गर्ने गरिएको हो । भान्साको आवश्यकतालाई पूर्ति गर्न अथवा खर्च कटौती गर्न यो खेती राम्रो मानिन्छ ।
— कौसी खेतीले उपयोगमा नआएको घरको क्षेत्र (बरण्डा, कौशी) आदि सदुपयोग हुन्छ ।
— बजारमा पाइने तरकारी र फलफूलमा हानिकारक रासायनिक विषादीको मात्रा धेरै हुने गरेका कारण विषादी प्रयोग नगरिएका वस्तु केही मात्रामा भए पनि उपभोग गर्न कौसीमा खेती गरिएको हो ।
— शहरी क्षेत्रमा निस्कने फोहोरलाई व्यवस्थापन गर्ने अवधारणासँगै यो प्रविधि विस्तार भएको हो । कुहिने फोहोरलाई कम्पोष्ट मल बनाएर कौसी    खेतीको  लागि प्रयोग गरिन्छ । कृषिमा निर्भर धेरै जनसंख्याका कारण फोहोरमा पनि ७० प्रतिशतभन्दा बढी कुहिने फोहोर निस्कने गरेको देखिन्छ । नकुहिने तर गमलाको रुपमा प्रयोग गर्न सकिनेलाई प्रयोगमा ल्याउने र बाँकी वस्तु जस्तै सिसा, प्लास्टिक आदिलाई फोहोरमा बन्दोबस्त गरिन्छ ।
— कङ्क्रिटको शहरमा केही हरियाली कायम गर्न वा स्वच्छ वातावरण कायम गर्न यो खेती गरिएको हो । कौसी खेतीले वायु प्रदूषणलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
— शहरका विद्यार्थीहरुले बिरुवाको जीवनचक्र, तरकारी र फलफूलको उत्पादन आदिबारे ज्ञान पाउन सक्ने कौसी खेतीलाई व्यवहारिक पाठशालाको रुपमा ग्रहण गर्न सक्दछन् ।

गमलाको तयारी
— माटो वा प्लाष्टिकको गमला (ग्रो ब्याग), सिमेन्टको बोरा, टीन, आधा काटिएको ड्रम, प्लाष्टिक आदि खेर जाने वस्तुको प्रयोग गर्ने । गमला छनौट गर्दा हल्का वस्तु छनौट गरिनुपर्दछ ।
— जराको आवश्यक फैलावटको लागि २०–३० सेमि व्यास भएको र उचाई ४५–६० सेमि भाँडो राम्रो हुन्छ ।
— पानीको निकासको लागि भाँडाको पिंधमा आवश्यकताअनुसार प्वाल बनाउनुपर्दछ ।

माटो र मलखाद
— रोग र कीराबाट बचाउन माटोलाई निर्मलीकरण गर्नु आवश्यक हुन्छ ।
— माटो हलुका र खुकुलो बनाउन कोकोपिट (नरिवलको जट्टा) को प्रयोग गर्न सकिन्छ । खुकुलो माटोमा बिरुवाको जराको राम्रो विकास हुन्छ ।
— घरमा भान्साबाट निस्कने कुहिने फोहोर कम्पोष्ट बिन राखेर मल बनाउन सकिन्छ । कम्पोष्ट मल सुख्खा वा गिलो हुनबाट जोगाउनु आवश्यक हुन्छ । सुख्खा भए पानी छर्कने र गिलो भए पिना वा सुख्खा माटो वा भुस प्रयोग गर्न सकिन्छ । सूक्ष्म जीवाणुयुक्त ई. एम्. लाई जोरनको रुपमा वा छिटो मल तयार गर्न प्रयोग गर्ने गरिन्छ ।
— गमलामा बिरुवा रोप्नु अगाडि कोकोपिट र माटो आधा–आधा राख्ने वा कोकोपिट मात्र राख्न सकिन्छ र आवश्यकताअनुसार कम्पोष्ट मल र गड्यौला मलको प्रयोग गर्नुपर्दछ । रोग कीराको संक्रमण नहोस् भनेर खरानी थप्ने गरिएको छ ।

सिंचाई प्रविधि
— आकासे पानी सङ्कलन र भान्सामा तरकारी पखाल्दा निस्केको र जम्मा गरिएको पानीलाई सिंचाईमा प्रयोग गर्ने गरिन्छ ।
— धेरै गमलाहरु भएमा थोपा सिंचाई प्रयोग गर्नु उपयुक्त हुन्छ । थोपा सिंचाईमा पानीको अधिकत्तम प्रयोग हुने र विरुवा राम्रो हुर्कन्छ ।
— गमलामा पानीको निकासलाई विशेष ध्यान दिइनुपर्दछ ।

रोग–कीरा व्यवस्थापन
— प्राङ्गारिक कौसी खेतीमा रोग कीराको नियन्त्रणको लागि गिटी मल, पिसाब मल वा जैविक विषादीको प्रयोग गरिन्छ । यसबाट खुम्रे कीरा, कमिला, लाही, आदि कीरा नियन्त्रण सजिलै हुन्छ ।
— स्थानीय रुपमै पाउने तीतो, अमिलो, पिरो र टर्राे वनस्पतिहरु जस्तै असुरोे, सिस्नो, निम, वनमारा, तितेपाती वा बकाइनो, खिर्राे, टिमुर, हात्तीबार, खरानी, गोबर, गहुत, पिना, अदुवा, खुर्सानी आदि मिसाएर जैविक विषादी तयार गरिन्छ । यी वस्तुलाई स–साना टुक्रा बनाएमा जैविक विषादी २०–२५ दिनमा चाँडो तयार हुन्छ ।
— ग्यास बाहिर निस्कन नदिन बिर्काे लगाउन मिल्ने भाँडो प्रयोग गर्नुपर्दछ ।
— कलिलो विरुवाको लागि एक भाग विषादी र आठ भाग पानी मिसाएर प्रयोग गर्ने र ठूलो विरुवाको लागि एक भाग विषादी र चार भाग पानी मिसाएर प्रयोग गरिन्छ । कडा भएमा विरुवा मर्न सक्दछ ।

कौसी खेतीमा ध्यान दिनुपर्ने पक्ष ः
— गमला राख्दा भूकम्पीय जोखिमबाट सुरक्षित भएको हुनु जरुरी छ । हावाहुरीको चाप बढी हुने स्थानमा गमलाहरु राख्नुहुन्न ।
— बाकस, गमला वा बोरा राख्दा ढलानसँग सम्पर्कमा राख्नु हुँदैन । गमलालाई सिधै भुईमा राख्नुभन्दा हावा खेल्नेगरी एंगलमा उठाएर राख्नु राम्रो हुन्छ ।
— जरा कम फैलने, कम गहिराईमै सिमित रहने, छिटो तरकारी दिने तथा लामो समयसम्म उत्पादन दिने बाली छनौट गरिनुपर्दछ ।
— मौसमअनुरुप बाली, सिंचाई र पानीको निकासको व्यवस्था, सूर्यको घाम पर्ने स्थान छनौट गरिनुपर्दछ ।
— विरुवा रोप्दा सकभर एकआपसमा सेप (छायाँ) नपर्ने गरी रोप्नुपर्दछ ।
— होचा विरुवाहरुलाई सकभर पूर्व र दक्षिणी दिशामा रोप्ने साथै अग्लो विरुवालाई उत्तर या पश्चिम मोहडामा प्राथमिकता दिइनुपर्दछ ।

कौसी खेतीको सम्भाव्यता, आवश्यकता र व्यवस्थापनबारे मानिसलाई सचेत बनाउन सकेमा आर्थिक रुपमा भान्साको खर्च कटौती गर्ने, रासायनिक विषादीको असरबाट जोगाउन, फोहोरमैला व्यवस्थापन गर्न, वातावरण सुरक्षा, शारीरिक स्वस्थतालगायतका फाइदा पाउन सकिन्छ । नीति निर्माण गर्ने तहदेखि परिवारसम्म पनि कौसी खेतीबारे छलफल हुने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो ।

(तस्बीरःइन्टरनेट)
(khyajusabin@gmail.com)

स्रोतः ख्वपको पहिचान, स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री, भाग २

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *