“अमेरिकी साम्राज्यवाद युद्ध सरदार र हतियार व्यापारी हो”-प्रेम सुवाल

  • आश्विन १९, २०७८

नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघ सूर्यविनायक नगर समितिको आयोजनामा देशघाती एमसीसी सम्झौता खारेज गराउन जुलुस तथा जनसभा नंखेल वडा कार्यालय, जोरपाटी, सिमलटार हुँदै चित्तपोलको देउजागाउँमा पुगी सभामा परिणत भएको थियो ।

कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “अमेरिकी साम्राज्यवाद युद्ध सरदार र हतियार व्यापारी हो । दक्षिण एसियामा युद्ध गराउने र हतियार बेच्ने नियतका साथ अमेरिकी साम्राज्यवादले नेपाल सरकारसँग गरेको एमसीसी सम्झौता खारेज गर्नु जरुरी छ ।”

संसद्बाट एमसीसी सम्झौता पारित भएमा त्यसको दोष एमाओवादी, एकीकृत समाजवादी, जसपा र राजमोलाई जाने बताउँदै उहाँले दक्षिण एसियाली जनतालाई विकास र शान्तिको बाटोमा लाग्न आह्वान गर्नुभयो ।

जनताले नक्कली कम्युनिस्टहरुको पहिचान गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवाद र एमसीसी सम्झौताको विरोध नगर्नेहरु, जयसिंह धामीको हत्या र दार्चुलामा भारतीय हेलिकप्टर उडाएको विरोध नगर्नुेहरु कम्युनिस्ट होइनन् । वनजङ्गल, पर्ती जग्गा, खोलानाला अतिक्रमण गराई जनताको जग्गा कब्जा गराउने र निजी प्लटिङ गराउन सिफारिस दिनेहरु कम्युनिस्ट होइनन् । यस्तो भाग खाने ठग र गुण्डाहरु कम्युनिस्ट होइनन् ।”

नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले एमसीसीको पक्षमा नेपालका शासक पार्टीहरु र साम्राज्यवादी शक्ति एक ठाउँमा आएको बताउनुभयो ।

शासकहरुले जनतालाई बारम्बर ठगिरहेको जिकिर गर्दै उहाँले भन्नुभयो, “३१ वर्षसम्म नेका, एमाले, माओवादीले पटकपटक प्रम र सरकारको नेतृत्व गरे, विकासको नारा दिए । अहिले विदेशी सहयोगबाट विकास हुन्छ भन्दै अर्काे झूट बोल्दै छन् ।”

विश्वका विभिन्न मुलुकमा भइरहेको अमेरिकी साम्राज्यवादी हस्तक्षेपको चर्चा गर्दै नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सदस्य सृजना सैँजूले भन्नुभयो, “५० करोड अमेरिकी डलर युद्ध र अशान्तिको सन्देश हो, हाम्रो देशमाथिको हस्तक्षेप र दादागिरी हो ।”

कार्यक्रममा नेक्राविसंघका संयोजक प्रकाश गुरुङले एमसीसी खारेज नहुँदासम्म देशभक्त युवा–विद्यार्थीहरुलाई निरन्तर सङ्घर्ष गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा नेक्राविसंघका सहसंयोजक सुरेश परियार, नेक्रायुसंघका बुद्ध तामाङ र रामशरण त्वातीले पनि बोल्नुभएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *