काभ्रे र अछाममा एमसीसी सम्झौताको विरोध

  • आश्विन २, २०७८

नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिको आयोजनामा देशघाती एमसीसी सम्झौताविरुद्ध धुलिखेलमा शुक्रबार जुलुस तथा सभा भयो । पिपल चौतराबाट सुरु भएको जुलुस अड्डाबजार, सरस्वती बजार, अस्पताल चोक, बसपार्क हुँदै सरस्वती बजारमा पुगेर जनसभामा परिणत भएको थियो ।

सभामा नेमकिपा केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले २०७६ सालको फागुनमा काठमाडौँस्थित संरा अमेरिकी दुतावासमा भव्य जुलुससहित त्यतिखेरका अमेरिकी राष्ट्रपति ट्रम्पको नाउँमा पत्र पठाएको स्मरण गर्दै भन्नुभयो, “खबरदार ! नेपाललाई रणभूमि बनाउन पाइँदैन । शान्तिप्रिय नेपाली जनता युद्ध चाहँदैन । हामीलाई शान्तिको भीख पनि माग्नु छैन ।”

मिलिनियम च्यालेन्ज कर्पाेरेसन नेपालको विरुद्धमा मात्र नभई सिङ्गो एसियाको विरुद्धमा भएको सांसद गोसाई बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले एमसीसीबारे चर्चा परिचर्चा हुँदादेखि नै हरेक सर्तका बुँदाहरु केलाएर नेमकिपाले देशघाती सर्तहरुको विरोध गरिरहेको बताउनुभयो ।

“एमसीसीका मतियारहरुले विवादित बुँदाहरु स्पष्ट गर्नुपर्ने भनेर एमसीसीको मुख्यालयमा पत्राचार गर्नुले एमसीसीका सर्तहरु अध्ययन नै नगरी विदेशी पैसामा ¥याल चुहाएर हस्ताक्षर गरेको सावित हुन्छ”, उहाँले भन्नुभयो ।

सभामा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय संयोजक प्रकाश गुरुङ, सुरेश परियार, मुना तामाङ, नेमकिपा धुलिखेल नगर समितिका अध्यक्ष पुण्यशोभा श्रेष्ठले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन नेपाल र नेपालीको हितमा नभएको र हिन्द प्रशान्त सैन्य रणनीतिअन्तर्गत भएको चर्चा गर्नुभएको थियो । जुलुसमा प्रदर्शनकारीहरुले देशघाती एमसीसी खारेज गर । अमेरिकी साम्राज्यवाद मूर्दावाद । एमसीसीका मतियारहरु होसियार । अमेरिकी सैन्य गठबन्धन चाहिँदैन । जलविद्युत् माफियाहरु होसियार । एसियालाई युद्धभूमि बनाउन दिँदैनौँ । जयसिंहको हत्यारालाई कारबाही गर । भारतीय विस्तारवाद मूर्दावाद । वैदेशिक हस्तक्षेप बन्द गर । सम्पूर्ण देशभक्त जनता एक हौऔँ । नेपाल मजदुर किसान पार्टि जिन्दावाद । लगायतका नाराहरु लगाएका थिए ।

अछाम
नेपाल मजदुर किसान पार्टी अछाम जिल्ला समितिको आयोजनामा राष्ट्रघाती एमसीसीको विरोधमा मङ्गलसेनामा विरोध सभा भयो ।

सभामा पार्टि जिल्ला अध्यक्ष झङ्करबहादुर शाहीले एमसीसी पारित भए नेपाल साम्राज्यवादीहरुको खेल मैदान हुने बताउनुभयो ।

संरा अमेरिकी साम्राज्यवाद एसियामा तेस्रो विश्व युद्ध थोप्न चाहन्छ, उहाँले भन्नुभयो । कार्यक्रममा वीरेन्द्रबहादुर शाही, जुनाकुमारी सावद, पद्म बुढाले पनि बोल्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *