माटो परीक्षणको आवश्यकता

  • सबिन ख्याजू
  • आश्विन १, २०७८

सबिन ख्याजू

पृष्ठभूमि
माटोको परिभाषा दिनुपर्दा पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम र मलिलो किसिमको भाग हो । खासगरी माटो विभिन्न खनिज तत्व, प्राङ्गारिक तत्व, हावा (विभिन्न ग्याँस), तरल पदार्थ (पानी) र आँखाले देख्न सकिने वा नसकिने खालका जीवहरुबाट बनेको हुन्छ । माटो विरुवाको लागि खाद्यतत्वको भण्डार र जीवनको आधार हो । विरुवालाई १६ वटा खाद्यतत्वहरुको आवश्यकता पर्दछ । माटोबाट खाद्यतत्व सोस्नको लागि पानीको आवश्यकता हुन्छ । माटोमा शाकाणु, ढुसी, लेउ, गड्यौलालगायतका हजारौं जीवहरु चलायमान अवस्थामा रहेका हुन्छन् । यसकारण, माटोलाई जिवित वस्तुको रुपमा लिइन्छ ।

माटोको विशेष ख्याल गर्नुपर्दछ र यसको अवस्थाबारे थाहा पाउन जरुरी छ । माटोमा पिएच्, खाद्यतत्व, प्राङ्गारिक तत्वलगायतको उचित व्यवस्थापन भएमा मात्र बाली सप्रिन्छ । यी सबै रसायनको तहमा हुने भएकाले माटोलाई बुझ्न त्यति सहज छैन । हरेक बालीले फरक फरक मात्राको मल र पिएच् खोज्छ । एक थरीको बालीको लागि तयार गरिएको मलखाद अर्काे बालीको लागि अनुपयुक्त हुन सक्छ । एक थरीको बालीको लागि चाहिने अम्लियपना अर्काे बालीको लागि वढी वा कम हुन सक्छ । कुनै बालीको व्यवसायिक खेती गर्नुभन्दा पहिले, त्यस बालीको उत्पादकत्वबारे थाहा पाउन माटो परीक्षण अनिवार्य गर्नुपर्ने हुन्छ । बाली लगाउने, केहि समय पछि बाली बिग्रेपछि माटो परीक्षणमा जानु अनुपयुक्त हुन्छ । युरिया र डिएपी मलको प्रयोग बढी भएको तर प्राङ्गारिक मलको प्रयोग घट्दै जाँदा माटोको अम्लियपना बढेको हुन्छ ।

एकपटक माटोको गुणस्तर बिग्रिसकेपछि त्यसलाई सुधार गर्न त्यत्ति सजिलो छैन । खेती गर्ने जग्गाको प्रतिनिधि माटो नमूना लिने समय भनेको माटो परीक्षणबाट प्राप्त नतिजा र सिफारिस व्यवस्थापनका उपायहरु अपनाउने समय पुग्दो होस् । त्यस पछि मात्र बाली लगाउँदा राम्रो हुन्छ । साथै बालीमा अधिक रसायनिक मलको प्रयोगले माटोको संरचनामा बाधा पुर्याउँछ र वातावरणलाई क्षति पुर्याउँछ । त्यसैले सर्वप्रथम माटोलाई कस्तो खालको मल प्रयोग गरिन्छ र कति मात्रामा मल प्रयोग गरिन्छ भन्ने हेक्का राख्नु जरुरी छ ।

माटो परीक्षण विधि
माटो परीक्षण विधिमा माटोमा भएको खाद्यतत्व, पिएच्, प्राङ्गारिक तत्व, इलेक्ट्रिकल कन्डक्टिभिटी आदिको विश्लेषण गरिन्छ । माटोमा भएका यी तत्वहरुको परीक्षण गर्न प्रयोगशालामा पिएच मिटर, जेल्डाल, कन्डक्टिभिटी मिटर, क्लोरोमिटर वा स्पेक्ट्रोफोटोमिटर, फ्लेम फोटोमिटर, मेकानिकल शेकर, डिष्टिल वाटर प्लान्ट र ब्यालेन्सजस्ता मुख्य मेसिनहरुको आवश्यकता पर्दछ ।

महत्व
हरेक बाली विरुवाको लागि फरक फरक मात्रामा खाद्यतत्वको आवश्यकता पर्दछ । खाद्यतत्व वढी वा कम दिएमा विरुवाले राम्रो उत्पादन र उत्पादकत्व दिन सक्दैन ।
– माटो परीक्षणले किसानलाई माटोको गुणस्तर र यसको सुधारबारे जानकारी दिन्छ । माटोको रङ्ग, बुनोट र बनोट आँखाले देखिन्छ तर माटोको रसायनिक संरचना थाहा पाउन माटो परीक्षण आवश्यक हुन्छ । माटोको पिएच् र खाद्यतत्व थाहा पाउन माटो परीक्षण गर्नु पर्दछ ।
– माटो परीक्षणले मलमा हुने खर्च घटाउन सहयोग मिल्छ । माटो परीक्षणले माटोमा उपलब्ध मलको मात्रा र उर्वराशक्तिबारे जानकारी दिन्छ । यो जानकारीबाट आवश्यक मात्राको मल बालीमा प्रयोग गर्न सकिन्छ । अनावश्यक रुपमा धेरै मलको आवश्यकता पर्दैन । फस्फोरस र पोटासियमजस्ता रासायनिक मल सिमित अजैविक वस्तु वा खानीबाट उत्खनन् गरी तयार गरिने हुनाले यसको अनावश्यक प्रयोगमा न्यूनीकरण हुन्छ ।
– माटो परीक्षणले आवश्यकताभन्दा धेरै मल प्रयोगलाई न्यूनीकरण गर्ने जानकारी दिन्छ । परीक्षण गर्दा खाद्यतत्वको उपलब्धताबारे पुग्दो जानकारी प्राप्त हुन्छ । यसले वातावरणमा पर्ने नकारात्मक असरबाट पनि सुरक्षा गर्छ । जस्तैः अत्यधिक मलले पानी प्रदुषित पार्छ, मलको चुहावटले पानीमा बस्ने जिवहरुलाई हानी गर्छ ।
– माटो परीक्षणले माटो बिग्रनबाट बचाउन जानकारी दिन्छ । माटोको उचित व्यवस्थापन नगर्दा भूक्षयका कारण विश्वमा वार्षिक २४ अर्ब टन उर्वर माटो घटेको छ । बिग्रेको माटोलाई पुरानै अवस्थामा फर्काउन सजिलो छैन, निकै खर्च र समय लाग्छ ।
– माटो परीक्षणले दिने जानकारी प्रयोग गर्दा माटोको उर्वराशक्तिमा वृद्धि भई उत्पादन बढाउँछ । बढ्दै गरेको विश्वका मानिसको खाद्य सुरक्षाको प्रश्न उठेको छ । खाद्य उत्पादन बढाउन जमिनको उर्वराशक्ति वृद्धि गर्नु जरुरी छ । स्वस्थ माटो भएमा मात्र उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ । यसको लागि माटो परीक्षण पहिलो काम हो ।
– बालीमा मलको प्रतिक्रिया थाहा पाउन गरिने अनुसन्धानहरुमा पनि माटो परीक्षण नियमति प्रक्रिया हो । यसबाट बालीको लागि आवश्यक मलको उचित मात्रा सिफारिस गर्न मद्दत गर्दछ ।
– कुनै निश्चित क्षेत्रमा माटोको मलिलोपना भएको वा नभएको, माटोको बुनोट र बनोटको आधारमा माटोलाई वर्गीकरण गर्न पनि माटोको परीक्षण गर्नु पर्दछ ।

माटो परीक्षणमा चार वटा चरणहरु हुन्छन्ः
– खेती गर्ने जग्गाको प्रतिनिधि माटो वा नमूना संकलन गर्ने ।
– नमूना माटो प्रयोगशालामा लाने र विश्लेषण गर्ने ।
– प्रयोगशालामा गरिएको परीक्षण नतिजाको व्याख्या गर्ने ।
– नतिजाको अध्ययनपछि माटोको उपयुक्त व्यवस्थापनको लागि सिफारिस गर्ने ।

मलखाद
विरुवाको वृद्धिविकासको लागि खाद्यतत्वको आवश्यकता पर्दछ । उन्नत जातको वीउ प्रयोग गर्ने तर खाद्यतत्वको मात्रा कम दिँदा त्यसको उत्पादन परिणाम पनि कम नै हुन्छ । उन्नत जातको वीउ वा हाइब्रिड जातको वीउ प्रयोग गर्दा मलको आवश्यकता पनि धेरै हुन्छ । माटो परीक्षणमा मलखादमा पर्ने नाइट्रोजन, फस्फोरस, पोटासियम, सूक्ष्म खाद्यतत्व (उदाहरणः कपर, फलाम, म्यानगानिज, जिङ्क, बारोन, मोलिब्डेनम) आदिको विश्लेषण गरिन्छ ।

एकीकृत खाद्यतत्वको अवधारणाबारे किसानहरु जानकार हुनु जरुरी छ । गोठेमल÷कम्पोष्ट मल, हरियो मल, रासायनिक मल आदि खाद्यतत्वका स्रोतहरु हुन् । माटोको अवस्था बुझ्न माटोको बुनोट तथा बनोट, माटोको पिएच्, प्राङ्गारिक पदार्थको चुहावट, भूक्षय, खाद्यतत्वको उपलब्धता र सूक्ष्म जीवाणुको उपस्थितिबारे अध्ययन गर्नुपर्दछ । बालीचक्र, लक्षित उत्पादनको अनुमान, बालीले लिने खाद्यतत्वको अनुमान, उपयुक्त जातको छनौट, अन्तरबाली प्रणाली, रोप्ने समय र तरिका, चिस्यानको व्यवस्था र झारपात, रोगकीराको व्यवस्थापनबाट बाली व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।

प्राङ्गारिक मलको प्रयोगले माटोको गुणस्तरमा सुधार हुन्छ । यसले विरुवाको जरा हुने भाग (Rhizosphere)  मा सुक्ष्म जिवाणुको लागि उपयुक्त वातावरण सिर्जना गर्दछ । यसले माटोलाई खुकुलो बनाउने, पानी सोस्ने क्षमतामा वृद्धि गर्ने, जरा राम्ररी विकास हुन र विरुवालाई खाद्यतत्व सोस्न मद्दत पु¥याउँछ । प्राङ्गारिक तत्व ५ प्रतिशत भएको माटो उत्तम मानिन्छ । तर नेपालको माटोमा प्राङ्गारिक तत्वको मात्रा यो भन्दा निकै कम छ । माटोमा कम्पोष्ट, गोठेमल, हरियो मल, आदिबाट प्राङ्गारिक वस्तु तयार हुन्छ अर्थात् विरुवा र जीवको अवशेषको निरन्तरको विघटनबाट तयार हुन्छ ।

रासायनिक मलहरुमा फरक फरक मात्रामा नाइट्रोजन, फस्फोरस, पोटासियम आदि हुन्छ । बालीको आवश्यकताअनुसार मलखादको प्रयोग गर्नुपर्ने भएकाले सिफरिस मलखादबारे राम्रो जानकारी लिनु पर्दछ ।

पिएच्
बालीको राम्रो उत्पादन र उत्पादकत्वको लागि माटोमा अम्लियपना र क्षारियपनाको व्यवस्थापन आवश्यक हुन्छ । माटोको पिएच् ० देखि १४ को स्केलमा नापिन्छ । ० मान भनेको अत्यधिक अम्लियपना, १४ मान भनेको अत्यधिक क्षारिय र ७ मान भनेको तटस्थता जनाउँछ । राम्रो माटोको पिएच् ६ देखि ७.५ मान भित्र परेको हुनुपर्दछ ।

माटोमा पिएच् र खाद्यतत्वबीच प्रत्यक्ष सम्बन्ध छ । पिएच् मा  थोरै मात्र पनि थपघट भएमा खाद्यतत्वको उपलब्धतामा असर गर्दछ । अम्लियपना बढी भएको माटोलाई चूनको प्रयोगले उपचार गरिन्छ भने क्षारियपना बढी भएको माटोलाई जिप्सम प्रयोग गरिन्छ । माटोको अम्लियपना घटाउन प्रयोग गरिने चूनको मात्रामा ध्यान दिनु आवश्यक छ । पिएच्को सङ्केतअनुसार चूनको मात्रा निर्धारण हुन्छ । पिएच् व्यवस्थापन गर्न केही समय लागे पनि यसको महत्व बालीको स्वस्थता र उर्वराशक्तिको लागि त्यत्ति नै महत्वपूर्ण छ ।

निष्कर्ष
किसानले बाली लगाउँदा प्रतिफलको आशा गरेको हुन्छ । माटोमा भएको खाद्यतत्वको अधिकत्तम प्रयोग गर्न माटोमा भएको खाद्यतत्वबारे जानकारी लिनु आवश्यक छ । बालीले मागेको खाद्यतत्वको मात्रा, पिएच्, प्राङ्गारिक तत्व, सिँचाई आदिको व्यवस्था भएमा मात्र उत्पादन र उत्पादकत्वमा वृद्धि हुन्छ । माटोको उर्वराशक्तिलाई कायम गर्नु आवश्यक छ । यसकारण माटो परीक्षणलाई पनि त्यत्तिकै ध्यान दिनु जरुरी छ ।

हरेक जिल्लामा माटो परीक्षण प्रयोगशाला निर्माण र सञ्चालन हुन सके देशभरका किसानले राहत पाउँथे । माटो परीक्षणको नतिजा केहि दिनमै उपलब्ध गराउने प्रावधान भएमा किसानहरुले माटो पनि समयमै उपचार गर्न सक्छन् । माटोको परीक्षण र उपचारपछि गरिने खेतीबाट आम्दानी बढ्ने हुनाले समग्र समाज र देशकै अर्थतन्त्रमा टेवा पुग्दछ । साथै, किसानहरुलाई माटो परीक्षणको लागि अभिप्रेरित गर्ने कार्यक्रमहरु सञ्चालनमा ल्याउनु जरुरी छ ।

स्रोत
• Hoskins, Bruce R., 1997. Soil Testing Handbook for Professional in Agriculture, Horticulture, Nutrient and Residuals Management.
• Walworth, J. L., 2006. Soil Sampling and Analysis.
• कृषि तथा पशुपन्छी डायरी, २०७८ । नेपाल सरकार ।

तस्वीरः इन्टरनेट
(khyajusabin@gmail.com)

भक्तपुर मासिक अंक २९९ बाट साभार

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *