एमसीसीविरुद्ध नेमकिपाको देशभरी जुलुस तथा जनसभा

  • भाद्र २४, २०७८

देशको सार्वभौमिकताविरुद्ध रहेको राष्ट्रघाती एमसीसी सम्झौता र परियोजनाको विरोधमा नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरको आयोजनामा बुधबार विरोध जुलुस तथा कोणसभा सम्पन्न भयो ।

हजारौँ युवा–विद्यार्थी र जनताको सहभागिता रहेको जुलुस कमलविनायक चोकबाट सुरु भई च्याम्हासिंह, सूर्यमढी, दत्तात्रय, गोलमढी, सुकुलढोका, टौमढी, राममन्दिर हुँदै सूर्यविनायक चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
जुलुसमा देशघाती एमसीसी सम्झौता–खारेज गर, एमसीसीका मतियारहरु–होशियार, वैदेशिक हस्तक्षेप–बन्द गर, जलविद्युत् माफियाहरु होशियार, अमेरिकी आम्राज्यवाद मुर्दावाद, एसियालाई युद्धभूमि बनाउन दिँदैनौँ, सम्पूर्ण देशभक्त जनता एक हौऔँ, जयसिंहका हत्याराहरुलाई कारबाही गर, भारतीय विस्तारवाद मुर्दावाद, नेपाल मजदुर किसान पार्टी जिन्दावाद आदि नाराका लगाइएका थिए ।

कोणसभामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले देशको सार्वभौमिकताविरुद्ध रहेको एमसीसी सम्झौता संसद्बाट पारित गरेमा वर्तमान सरकार र गठबन्धनमा रहेका पार्टीहरु जनतासामु राष्ट्रघातीका रुपमा नाङ्गिनेछन् भन्नुभयो ।
परियोजनाको सुरक्षा या कुनै पनि बहानामा अमेरिकी सेना नेपालमा आउने र बस्ने प्रावधानलाई नेपाली जनताले स्वीकार नगर्ने बताउँदै उहाँले सम्झौता पारित भएपछि अमेरिकी सेना नेपाल आउने, छिमेकी समाजवादी देश चीनविरुद्धको गतिविधिलाई तीव्र बनाउने र नेपाललाई युद्धभूमि बनाउन सक्ने खतरा रहेको बताउनुभयो ।

केन्द्रीय सदस्य कवांले अमेरिकी सेना जुन–जुन देशमा प्रवेश गरेका छन्, त्यो–त्यो देशमा आतङ्क मच्चाएको र युद्ध भई ध्वस्त भएको उदाहरण प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता रक्षाको लागि एमसीसी सम्झौता खारेज हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल क्रान्तिकरी विद्यार्थी संघका केन्द्रीय सचिव रमेश प्रजापतिले काठमाडौँमा देशघाती एमसीसीको विरोधमा उत्रेका युवा–विद्यार्थी कार्यकर्ताहरुमाथि प्रहरी प्रशासनले गरेको दमनको भत्र्सना गर्नुभयो । देशको सार्वभौमिकता रक्षाको लागि देशभक्त प्रहरी पनि लाग्नुपर्ने उल्लेख गर्दै उहाँले देशभक्त आन्दोलनकारीलाई दबाउने होइन, आन्दोलनमा सहयोग गर्नुपर्छ भन्नुभयो ।

कार्र्यक्रममा नेक्रायुसंघ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिन बहादुर बाटाले एमसीसी सम्झौता र परियोजनाको नाममा शासक दलहरुले देशलाई साम्राज्यवादको युद्धभूमि र नेपाली जनतालाई विदेशीको दास बनाउन खोजेको बताउनुभयो । नेपाल इतिहासमा अहिलेसम्म कहिले पनि कुनै देश र साम्राज्यको उपनिवेश नबनेको र भविष्यमा पनि बन्न नदिन सम्पूर्ण देशभक्त जनतालाई एमसीसी सम्झौताको विरोधमा आन्दोलित हुन उहाँले आह्वाद गर्नुभयो ।
नेक्रायुसंघ भक्तपुर जिल्ला समितिका रमेश वैद्यले पनि जनभावनाविपरित एमसीसी सम्झौता गर्ने र संसद्बाट पारित गर्ने पार्टीहरुलाई जनताले सजाय गर्ने बताउनुभयो ।

जुलुस सुरु हुनुअगाडि कमलविनायक चोकमा भएको कोणसभामा नेक्रायुसंघका श्यामकृष्ण खत्री, गोपालसुन्दर गोसाई र नेक्राविसंघका किरण गोसाईले पनि एमसीसीको खारेजीको माग गर्नुभएको थियो ।

कालीकोटमा जनसभा
नेपाल मजदुर किसान पार्टी १० औँ कालीकोट जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा एमसीसीको विरोधमा बुधबार जनसभा भयो ।

सभामा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले देशघाती एमसीसीको विरुद्धमा सोमबार काठमाडौँमा भएको पार्टीका जनवर्गीय सङ्गठनहरुको शान्तिपूर्ण ¥यालीमा प्रहरी हस्तक्षेप हुनु निन्दनीय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी पार्टीहरुको मिलेमतोमा संसद्बाट एमसीसी पारित गर्ने खतरा भएकोले एमसीसीको विरुद्ध जनदबाब आवश्यक छ । एमसीसी पारित भए नेपाल साम्राज्यवादीहरुको खेलमैदान हुने खतरा छ ।”
आयोजक समितिका संयोजक एवम् पार्टीका अर्का केन्द्रीय सदस्य नवराज कोइरालाले एमसीसीमार्फत प्राप्त हुने ५५ अर्बको सहयोगले देशको सार्वभौमकिता गुम्ने निश्चित छ भन्नुभयो ।

“एमसीसी साम्राज्यवादीहरुको सैनिक गठबन्धनसित सम्बन्धित छ । चीनलाई चारैतिरबाट घेर्ने योजनाअनुसार संरा अमेरिकाले उक्त योजना नेपालमा थोप्न खोजिएको हो”, उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा खड्गराज शाही र धनञ्जय अधिकारीले पनि बोल्नुभएको थियो ।

काभ्रेमा एमसीसीको विरोध जुलुुस
नेमकिपा काभ्रे जिल्ला समितिको आयोजनामा एमसीसी सम्झौताविरुद्ध जुलुस तथा सभा बुधबार भयो । बनेपा बसपार्कमा भएको जनसभामा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले देश क्षेत्रफल र जनसङ्ख्याको हिसाबले सानो–ठूलो हुनसक्छ, हातहतियारको हिसाबले कमजोर हुनसक्छ तर सार्वभौमसत्ता कुनै पनि देशको सानो–ठूलो हुनसक्दैन भन्नुभयो ।

उहाँले संयुक्त राष्ट्र संघमा नेपालको जति अधिकार छ अमेरिकाको पनि त्यति नै अधिकार राख्ने बताउनुभयो ।

नेपालको सार्वभौमिकतामाथि आँच पुग्ने गरी अमेरिकी साम्राज्यवादले एमसीसी सम्झौता थोप्न खोजेको चर्चा गर्दै केन्द्रीय सदस्य ज्याख्वले भन्नुभयो, “नेपालको संसद्बाट एमसीसी अनुमोदन गर्ने उद्देश्यले एमसीसीका उपाध्यक्ष नेपाल आएका छन् । एमसीसी नेपालको हितमा छैन ।”

नेपाल क्रान्किारी विद्यार्थी संघका केन्द्रीय संयोजक प्रकाश गुरुङले भदौ २१ गते काठमाडौँमा नेपाल क्रान्तिकारी विद्यार्थी संघले आयोजना गरेको शान्तिपूर्ण जुलुस तथा सभामा देउवा सरकारका प्रशासनले लाठी प्रहार गर्दा दर्जनौँ प्रदर्शनकारी घाइते भएको हुँदा उक्त घटनाको निन्दा एवम् भत्र्सना गर्नुभयो ।

नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कुष्णकुमार वैद्यले एमसीसी सम्झौताका बुँदाहरु देशघाती भएको बताउनुभयो ।

बनेपा बसपार्कबाट सुरु भएको जुलुस तीनदोबाटो, लाय्कु, दक्षुटोल, भोलाखाटोल, तीनधारा, वकुटोल, चारदोबाटो हुँदै पुनः बसपार्कमा पुगेर जनसभामा परिणत भएको थियो । जनसभामा नेमकिपा काभ्रेका उपाध्यक्ष पुण्याशोभा श्रेष्ठ, भोला खरेल, मुना तामाङलगायतले एमसीसी सम्झौता नेपालको सार्वभौमिकताविरुद्ध भएको बताउनुभएको थियो ।

तारकेश्वरमा एमसीसीको विरोधमा ¥याली

त्यस्तै नेमकिपा तारकेश्वर नगर समितिको आयोजनामा एमसीसीको विरोधमा ¥यालीसहित कोणसभा बुधबार भयो ।

सभामा पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले एमसीसी देश हितविपरित भएकोले विरोध गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “एमसीसी पारित गर्न खोज्ने नेताहरु विदेशीको दलाल प्रमाणित हुनेछ”, उहाँले भन्नुभयो ।

सभामा नेक्रायुसंघ काठमाडौंका सचिव रामलाल महर्जन, आयोजक समितिका अध्यक्ष श्यामकुमार महर्जनलगायतले एमसीसीको विरोधमा बोल्दै जनतालाई सचेत पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *