भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

भक्तपुर नगरभित्रका सहकारीकर्मीहरूबीच बैठक

  • भाद्र १९, २०७८

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरभित्र सञ्चालित सहकारी संस्थाहरूको प्रतिनिधिमूलक बैठक बिहीबार सम्पन्न भयो ।
बैठकमा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले सहकारी संस्थाहरूले पुँजीलाई सेवाको रुपमा रुपान्तरण गर्ने ढंगले काम गर्नुपर्नेमा जोड दिनुहुँदै कोभिड महामारीबीच नगरपालिकाले जनताको जीवन रक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर गतिविधिहरू अगाडि बढाइरहेको बताउनुभयो ।

कोभिडविरुद्धको खोप नगरको १० वटै वडामा व्यवस्थित सञ्चालन गर्दै आइरहेको बताउनुहुँदै उहाँले कोभिड नियन्त्रण तथा रोकथाम र नपाबाट सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माण तथा सञ्चालनमा भक्तपुरका सहकारी संस्थाहरूको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।

नगरपालिकाले सहकारी संस्थाहरूको नियमन र अनुगमनलाई प्राथमिकतामा राख्दै आएको बताउनुहुँदै प्रमुख प्रजापतिले विद्यालय सञ्चालन गर्ने विषयमा विद्यालयका प्रअहरूसँग चरणबद्ध छलफल पनि चलाइरहेको बताउनुभयो ।

नगरमा चिस्यान केन्द्र सञ्चालन, आदर निकेतन सञ्चालन, ख्वप अस्पताल व्यवस्थित सञ्चालन गर्न आवश्यक तयारीहरू भइरहेको उहाँले बैठकमा अवगत गराउनुभयो ।
बैठकमा भक्तपुर सहकारी अनुगमन समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नपा सहकारी विभागले सहकारी संस्थाहरूको मासिक प्रतिवेदन संकलन, सहकारी अनुगमन र विना स्वीकृति सञ्चालित प्रदेशस्तरीय बहुउद्देश्यीय सहकारी संस्थाहरूको अनुगमनलाई जोड दिँदै आइरहेको बताउनुभयो । कोभिड महामारी दिनानुदिन बढिरहेको अवस्थामा सहकारी संस्थाहरूको साधारणसभा सञ्चालन गर्नेबारे राय सुझाव संकलनको लागि उक्त बैठक बोलाइएको उहाँले प्रष्ट पार्नुभयो ।

बैठकमा उपस्थित सहकारी संस्थाका प्रतिनिधिहरूले नगरपालिकाको स्वीकृति विना सञ्चालित सहकारी संस्थाहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने, सहकारी संस्थाहरूको ब्याज दर अन्तरको विषयमा निरीक्षण गर्नुपर्ने, सहकारी अनुगमनलाई तीव्रता दिनुपर्ने, सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने, जनमुखी र नाफामुखी सहकारी संस्थाहरूको उद्देश्यबारे सर्वसाधारण जनतालाई सचेत बनाउनुपर्ने, प्रदेशस्तरीय सहकारीसंस्थाहरूलाई नियन्त्रण गर्नुपर्ने, प्लास्टिकजन्य उत्पादनलाई निरुत्साहित गर्दै सहकारी संस्थाले कपडाको झोला बनाउने तालिमहरू सञ्चालन गर्नुपर्नेलगायतका आफ्ना विचारहरू राख्नुभयो ।

उहाँहरूले यस वर्षको साधारणसभा पनि गत वर्षजस्तै सामाजिक दुरी कायम गरी भर्चुअल रुपमा सञ्चालन उपयुक्त हुने धारणा राख्नुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *