नेपालीले पूर्ण खोप कहिलेसम्म पाउने ?

  • श्रावण २०, २०७८

मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले गृहमन्त्री बालकृष्ण खाणसमक्ष दार्चुलाको तुइन काटिएको घटनाबारे प्रश्न गर्नुभयो ।

गृहमन्त्रीलाई प्रश्न गर्दै उहाँले भारतीय प्रशासनले नेपालको प्रशासनलाई पठाएको पत्रमा तुइन काटिएको घटनास्थलमा भारतीय ‘एसएसबी’ गस्तीमा गएको स्वीकार गरेको र प्रत्यक्षदर्शी कल्याणसिंह धामी, अनिता धामी र बिक्रम रङ्कोलीका अनुसार जयसिंह धामी तरिरकेको तुइन भारतीय ‘एसएसबी’ ले काटेको पुष्टि भएको अवस्थामा यो विषयबारे छानबिन समिति गठन गरी घटनालाई मत्थर बनाउने विगतको परम्परा यो सरकारले अवलम्बन गर्न नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्री मोदीसँग देउवाको फोनवार्तामार्फत अपराधीलाई कारबाही र जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति भराउने काम हुनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा उहाँले साउन १८ गते, जनताको सेवा गर्ने गहन जिम्मेवारी बोकेका संसारका १०० देशको ३०० वटा राजनीतिक दल र सङ्गठनले एक संयुक्त वक्तव्य जारी गरी कोभिड १९ भाइरसविरुद्धको संयुक्त अन्तर्राष्ट्रिय लडाइँलाई कमजोर पार्ने, भाइरसको मूल स्रोत खोज्ने मामिलालाई विषाक्त बनाउने, विश्वव्यापी सहकार्यलाई भड्काउने, अपव्याख्याद्वारा अनुसन्धान र महामारीविरुद्धको सहयोगलाई अवरोध गर्ने गतिविधिको विरोध एवम् निन्दा गरेको जानकारी दिनुभयो ।

“विराटनगरको कोसी अस्पतालमा दरबन्दीअनुसारको रेडियोलोजिस्ट नहुँदा बिरामीको उपचारमा बाधा पुगेको छ, सीमानाका रानी क्षेत्र कोभिड १९ सङ्क्रमणको कारण सुनसान भए पनि लुकीछुपी जोगवनी पुग्ने लर्काे नै भएको छ, बितेको २४ घण्टामा देशभरि कोभिड १९ सङ्क्रमित ३१२५ थपिएको छ, देशभरि कुल सङ्क्रमित ६,९९,६४९ पुगेको छ, यसबाट कुल मृत्यु ९८९८ पुगेको यो गम्भीर स्थितिमा निषेधाज्ञा खुकुलो र भीडभाड यसरी नै बढेमा सङ्क्रमण अझ भयावह हुने विज्ञहरुको मत छ । यसबारे स्वास्थ्यमन्त्रीबाट सदनलाई जानकारी गराउने व्यवस्था हुनु आवश्यक छ,” सांसद सुवालले जोड दिनुभयो ।

उहाँले हालसम्म २० लाख नेपालीले मात्र पूर्ण खोप पाएको हुँदा सबै नेपालीले पूर्ण खोप कहिलेसम्म पाउने ? भीडभाडमा स्वास्थ्य अनुशासन पालना कसरी गराउने ? भन्नेबारे पनि स्वास्थ्यमन्त्रीबाट सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

“मजदुर, किसान, गरिबको पक्षमा समाजवादउन्मुख विधेयक संसदमा पेश नहुनुमा आजसम्मका सरकारमा गएका मन्त्रीहरु दोषी किन होइनन् ? नेका नेतृत्वको यो संयुक्त सरकारको साझा कार्यक्रम एक दुई दिनमै प्रकाशित हुँदै छ । सो कार्यक्रममा पनि मजदुर, किसान र गरिबको हितमा नीति र बजेट बनाउने, विधेयक ल्याउने त्यसलाई कार्यान्वयन गर्ने विषय समावेश नगरिएमा यो सरकारका पार्टी र मन्त्रीहरुकै दोष हुनेछ,” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *