भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

देशको हितमा छैन नागरिकता अध्यादेश

  • जेष्ठ ११, २०७८

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नागरिकतासम्बन्धी अध्यादेशमा जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले सो¥ह वर्ष पूरा भएपछि वंशजको आधारमा नेपाली नागरिकता पाउने व्यवस्था खुला सीमा भएको नेपालमा गलत भएको बताउनुभएको छ ।

नेपालको परिवर्तित राजनैतिक घटनाबारे नेपाल क्रान्तिकारी युवा संघ चाँगुनारायण नगर समितिले सोमबार आयोजना गरेको अनलाइन प्रवचन कार्यक्रममा उहाँले नेका, एमाले, माओवादीको सहमतिमा २०६३ सालमा तीन जना नेपालीले सरजमिनमा सहीछाप गरेको भरमा जन्मको आधारमा नेपाली नागरिकता दिने ऐन बनाएको र सो ऐनको विरुद्ध नेपाल मजदुर किसान पार्टी मात्र विपक्षमा मत दिएको बताउनुभयो ।“जन्मको आधारमा नेपाली नागरिकता पाएकाको छानबिन गर्नु जरुरी छ । छानबिन नगरी जन्मको आधारमा नेपाली नागरिकता पाएकाका सन्तानलाई वंशजको नेपाली नागरिकता दिने अध्यादेश देश र जनताको हितमा छैन । नागरिकतालाई सरजमिन गरेर दिने निस्सा बनाउनु देशको हितमा हुँदैन । यससम्बन्धी संवैधानिक व्यवस्थालाई पनि संविधान निर्माणको बेला पार्टीले संशोधन पेश गरी विरोध गरेको थियो ।” उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बुबाको पहिचान हुन नसकेको व्यक्तिले वंशजको नेपाली नागरिकता प्राप्त गर्ने अध्यादेशको व्यवस्था खुला सीमाको कारण संवेदशील भएको उल्लेख गर्दै नेपालको संविधानअनुसार वंशजको आधारमा नेपाली नागरिकता पाएकाहरु राष्ट्रपति, प्रम, प्रधानन्याधिश, सभामुख, प्रधानसेनापति, प्रहरी महानिरीक्षक, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री, राजदूतलगायत पदमा निर्वाचित र मनोनीत हुने भएकोले आमा र बुबा दुवै वंशजको नेपाली नागरिक भएकाको सन्तानले मात्र वंशजको नेपाली नागरिकता पाउने व्यवस्था गर्नु जरुरी रहेको बताउनुभयो ।

अतिथि सुवालले निर्वाचनमा संयुक्त मोर्चा बनाई ‘कम्युनिस्ट’ दाबी गरी धेरै स्थान जितेका एमाले र माओवादी सरकारको गठनदेखि भागबन्डाको विवादमा फसेकाले यिनीहरुको पार्टी एकता सिद्धान्तहीन साबित भएको उल्लेख गर्नुभयो ।
सत्ता र प्रतिपक्ष पार्टी जिम्मेवार नहुँदा कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा फैलिएको र अस्पतालमा अक्सिजन, भेन्टिलेटर र आईसीयू नपाएर धेरैको मृत्यु भएको उल्लेख गर्दै यो अन्योलको स्थितिमा जनताको ताजा जनादेश प्राप्त निर्वाचनमा जानु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले देशमा राजनैतिक अन्योल छाइरहेको बेला साम्राज्यवादी र विस्तारवादी देशहरुको चलखेल बढेको हुँदा युवाहरु सचेत हुनुपर्छ भन्नुभयो ।
अमेरिकी नेतृत्वमा हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको सैन्य गठबन्धन ‘एमसीसी’ सम्झौता चीनलाई घेर्ने योजना भएको हुँदा सशक्त विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल क्रान्तिकारी युवा संघ भजिसका अध्यक्ष मिनबहादुर बाटाले भारतीय विस्तारवादको हित हुने गरी प्रम ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा ल्याइएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ को सशक्त विरोध गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।

नेपाल क्रान्तिकारी युवा संघ चाँगुनारायण नगर समितिका अध्यक्ष आर. साखकर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्रायुसंघ चाँगुका एलएन लिगलले पनि बोल्नुभएको थियो ।

स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *