छ्वाली बाल्नु के ठीक हो ?

  • जेष्ठ ९, २०७८

किरण गोसाई-

फेसबुकको एउटा ग्रुपमा छ्वाली बाल्नु ठीक हो होइन भन्ने सन्दर्भमा बहस भइरहेको देखेँ । कोही ठीक हो, खेतमा मल हुन्छ, पहिलेदेखिको चलन हो आदि भनिरहेका थिए भने कोही ठीक होइन प्रदूषण बढ्छ भनिरहेका थिए ।

प्रदूषण त इँटाभट्टाले गरे भन्नेहरू पनि थिए । यो पोस्टका कमेन्टहरू पढिरहँदा आफूले जानेका केही कुरा राख्न मन लागेको छ । ताउ ते आँधीका कारण वर्षा हुनुभन्दा अघिका दिनमा भक्तपुरवासीहरूले आफ्नो वरिपरि पहिलेभन्दा बाक्लो धुँवा भएको अनुभूति गरेकै होलान् । यो समय गहुँ काट्ने समय हो । पहिले गहुँ हातले नै चुटिन्थ्यो । अहिले थ्रेसरको प्रयोग बढ्न थालेको छ । दाउरा बाल्ने अगेना छोडेर ग्यास चुलोको प्रयोग भएसँगै हाम्रो जीवनमा छ्वालीको प्रयोग घटेको छ । त्यही भएर पनि थ्रेसरको प्रयोग बढेको छ, जसमा छ्वाली बिग्रिन्छ । यो बिग्रेको धुलो छ्वालीको व्यवस्थापनको समस्या बन्यो र बाल्नु सजिलो समाधानको रूपमा देखियो । यसकारण, छ्वाली बाल्नेको सङ्ख्या र बालिने छ्वालीको मात्रा पहिलेभन्दा बढेको देखिन्छ । तर, के यो साँच्चैको उचित समाधान हो त ?

सामान्यरूपमा हेर्दा बालेको खरानी राम्रो मल हुनेजस्तो देखिए पनि त्यसो होइन । छ्वाली अथवा पराल बाल्दा त्यसमा भएको कार्बन, नाइट्रोजन, सल्फर, फोसफरस र पोटासियम जस्ता बिरुवालाई आवश्यक तत्वहरू नष्ट हुने अध्ययनले पुस्टि गरिसकेको छ । यतिमात्र नभएर छ्वाली अथवा पराल बाल्दा माटोलाई अति आवश्यक कीरा फट्याङ्ग्राको पनि नास गर्छ जसले गर्दा एकातिर माटोको उर्वरा शक्तिको ह्रास हुन्छ भने अर्कोतिर हानिकारक कीराहरूले आफ्नो स्थान पाउँछन् । यसले उत्पादनमा कमी आउँछ र बालीमा रोग लाग्ने सम्भावना बढ्छ ।

छ्वाली अथवा पराल बाल्दा Carbondioxide, Carbonmonoxide, Suplhur oxides, Particulate matter / Black Carbon जस्ता प्रदूषण उत्सर्जन हुन्छ । यसले मान्छेहरूमा रुघाखोकी तथा नाक, घाँटी र आँखाका समस्याहरू उत्पन्न गराउँछ । यसले हिमालमा हिउँ पग्लिने गतिलाई पनि तीव्र बनाउँछ । जहाँसम्म इँटाभट्टाले प्रदूषण गर्ने कुरा छ, त्यसमा कसैको दुईमत नहोला । तर, खेतमा छ्वाली अथवा परालहरू बाल्दा यो पृथ्वीको सतहमा नै हुने हुँदा यसको असर इँटाभट्टाको प्रदूषणभन्दा छिटो, धेरै र बढी हानिकारक हुन्छ । भारतमा खेतमा छ्वाली अथवा पराल बाल्ने कार्यलाई अपराध नै घोषणा गरिएको छ । २०१६ मा पञ्जाब सरकारले त्यहाँका किसानहरूलाई जरिवाना गरेको थियो ।

त्यसो भए अब के गर्ने त ?
१. छ्वाली अथवा पराल कुनै एक ठाउँ जम्मा गरेर अथवा खेतमै छरेर मल बनाउन सकिन्छ ।
२. च्याउ खेतीमा प्रयोग गर्न सकिन्छ ।
३. गाईबाख्रालाई खुवाउन र ओछ्याउन प्रयोग गर्न सकिन्छ ।
४. छ्वाली र परालको ब्रिकेट बनाएर प्रयोग गर्न सकिन्छ ।
५. छ्वाली कला, सुकुल बुन्नेजस्ता हस्तकलाहरूलाई प्रोत्साहन गरी त्यसमा प्रयोग गर्न सकिन्छ ।
६. छ्वाली अथवा पराल खेतमा Mulch ing विधिमा प्रयोग गर्न सकिन्छ ।
(लेखक वातावरण विज्ञानका विद्यार्थी हुनुहुन्छ)

स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *