चीनसँग वार्ता गरी स्वास्थ्य सामग्री ल्याउन सांसद सुवालको ध्यानाकर्षण

  • बैशाख ३०, २०७८

नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले बुधबार एक वक्तव्य जारी गरी छिमेकी मित्र राष्ट्र चीनसँग वार्ता गरी आवश्यक स्वास्थ्य सामग्री ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ । सांसद सुवालले जारी गर्नुभएको वक्तव्यमा पूर्ण विवरण यस प्रकार छ:

नेपालमा कोभिड–१९ सङ्क्रमणको पहिलो लहर शुरु भएको २०७६ चैतयता एक वर्षमा यो सङ्क्रमणबाट ३ हजार नेपालीको मृत्यु भएको थियो । गएको चैतको दोस्रो सातायता फैलिएको सङ्क्रमणको दोस्रो लहरसँगै २०७८ वैशाख २८ गतेसम्म मृत्यु सङ्ख्या ४,०८४ पुग्यो । गत २४ घण्टामा गरिएको २१,३१६ पीसीआर परिक्षणमध्ये ९,४८३ सङ्क्रमित भए । नेपालमा कूल सङ्क्रमित सङ्ख्या ४ लाख १३ हजार १११ पुग्यो ।

सङ्क्रमितको सङ्ख्या एकैचोटी बढेलगत्तै अस्पतालहरूमा शैय्या, अक्सिजन र भेन्टिलेटरको अभाव भयो । अस्पतालको भुइँमै राखी विरामीको उपचार भइरहेको छ । अक्सिजन र आइसीयू कुर्दा कुर्दै सङ्क्रमितहरूको मृत्यु बढ्दो छ । केही अस्पतालहरूले सूचना प्रकाशित गरे– “यो साँझ ४ बजेसम्मको लागि मात्र अक्सिजन पुग्ने भएकोले बिरामी फिर्ता लानु होला १” केही अस्पतालले स्वास्थ्य सामग्री अभावको कारण बिरामी भर्ना लिन नसक्ने सूचना प्रकाशित गरे । सङ्क्रमित बिरामीहरूलाई अस्पतालमा भर्ना मुश्किल भएको भुक्तभोगीहरूको गुनासो छ । अहिले हरेक १० मिनेटमा एक सङ्क्रमितको मृत्यु भइरहेको छ । सङ्क्रमण रोकथामको निम्ति समयमा आवश्यक बन्दोवस्त नगरिए मृत्यु सङ्ख्या बढ्नेतर्फ हामीले सरकारको ध्यानाकर्षण गराउँदै आएको हो । स्वास्थ्यकर्मीहरूसमेत नेपालको स्वास्थ्य प्रणाली भत्किएको गुनासो गर्दै छन् ।

सङ्क्रमणको यो भयावह स्थितिमा नेपालले रकम भुक्तानी गरिसकेको १० लाख खोपसमेत भारतबाट प्राप्त भइरहेको छैन । दैनिक ४ लाखभन्दा बढी सङ्क्रमित र ४ हजारभन्दा बढी मृत्यु भइरहेको देश भारतबाट तत्काललाई नेपालीको मागअनुसारको खोप र अन्य स्वास्थ्य सामग्री आपूति हुने अवस्था छैन ।

यो सङ्क्रमण रोकथामको लागि नेपालको अर्को छिमेकी मित्र चीनबाट शुरुदेखि नै स्वास्थ्य सामग्री आपूर्ति भइरहेको सकारात्मक हो । तर, चीनबाट सहजै आपूर्ति हुने स्वास्थ्य
सामग्रीसमेत नेपाल ल्याउन सरकार गम्भिरताका साथ लागि परेको छैन । विश्वमै सबभन्दा बढी जनसङ्ख्या भएको चीनले कोभिड–१९ सङ्क्रमण रोकथाममा प्राप्त गरेको अनुभव बाँकी विश्वको लागि पनि अनुकरणीय छ । यो सङ्क्रमणलाई तदारुकताकासाथ रोक्न नेपाल सरकारले चीन सरकारको अनुभव लिनु उपयुक्त हुने छ । साथसाथै सरकारले चीनसँग वार्ता गरी आवश्यक अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डर, भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री अविलम्ब आपूर्ति गर्न प्रमज्यूको पुनः ध्यानाकर्षण गराउन चाहन्छु ।

कतिपय अस्पतालले बिरामीसँग बेड शुल्क र अन्य औषधी उपचारको खर्च दैनिक दशहजारदेखि पचास हजार रूपैयाँसम्म असुलीरहेको जनगुनासो आएको हुँदा नेपाल सरकारका सम्वन्धित निकायहरूले ती अस्पतालहरूलाई नियमन गरी दोषीलाई कार्वाई गर्नु जरुरी छ । यो सङ्कटमा स्वास्थ्य सामग्री, औषधी र खाद्यान्नलगायतका सामग्री बढी मूल्यमा बिक्री गर्ने र कालोबजारी गर्नेहरूलाई कार्वाई हुनु पर्दछ । कालिमाटी तरकारी बजारमा भीडभाड बढेको हुँदा खुद्रा र कृषक बजार बन्द गरियो, तर पाटन, बालाजु र भक्तपुर औद्योगिक क्षेत्रमा अत्यावश्यक बस्तु बाहेकका टेक्सटाइल र प्लास्टिक उद्योगहरू चालू हुँदा सङ्क्रमण फैलिने जोखिम बढ्दो छ । सरकारले घोषणा गरेको वैशाख १६ गतेदेखि जेठ १३ गतेसम्मको निषेधाज्ञाको औचित्य पुष्टी गर्न अत्यावश्यक सेवाबाहेकका उद्योगहरू बन्द गर्नु जरुरी छ ।

निषेधाज्ञाको यो अवधिमा स्वास्थ्य अनुशासनलाई पूर्णरुपले पालना गरी आ–आफ्नो घरभित्र बस्नु हुन सम्पूर्ण दिदीबहिनी र दाजुभाईहरूसँग हार्दिक आग्रह गर्न चाहन्छु ।

स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *