इतिहास अध्ययन अनुसन्धानका समस्या

  • फाल्गुन १८, २०७७

सोमबार आयोजित एक कार्यक्रममा इतिहासकार र संस्कृतिविद्हरुले प्राचीन अभिलेखहरुको संरक्षणमा जोड दिएका छन् । अभिलेखहरु इतिहास खोतल्ने आधार हुन् । अभिलेखको संरक्षण गर्नु इतिहासको संरक्षण र भविष्यको लागि खोजको बाटो खोल्नु हो । अभिलेखहरु विगतको समाजका तस्वीर हुन् । तिनै अभिलेखको अध्ययनले हिजोका समाज, मानिस, राजनीति, शासक, अर्थतन्त्र आदि कस्ता थिए भनी निक्र्योल गर्नसक्छौं । हिजोको अध्ययनले आजको समाज बुझ्ने आधार तयार पार्छ । त्यसकारण अभिलेखको खोज र अध्ययन गर्नु आजको समाजको जग बनेको हिजोको जरा पहिल्याउने प्रयास हो ।

लामो समयसम्म देशमा शाहवंशले शासन ग¥यो । इतिहास जित्नेको घोडा हो भन्ने खोटो मान्यतामा टेकेर तत्कालीन शाहवंशीय शासकहरुले आफ्नै पुर्खाको महिमा मण्डन गरे । इतिहासको वस्तुगत अध्ययन हुनसकेन । पृथ्वीनारायण शाहले सन् १७६९ मा काठमाडौंमा विजय हासिल गर्नुअघि नेपाल उपत्यकाका शासक, जनता, अर्थतन्त्र, समाज, विदेश सम्बन्ध, संस्कृतिबारे अझ पनि मनग्य अध्ययन हुनसकेको छैन । विशेषतः पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका कब्जा गरेदेखि राणा शासनको समाप्तिसम्म र तीस वर्षको पञ्चायती व्यवस्थामा इतिहासको वस्तुगत अध्ययनको निम्ति तत्कालीन शासक र राजनीतिक व्यवस्था बाधक बने । इतिहास शाहवंशइतरका शासक र समाजको अध्ययनाका प्रयासहरु भए । तर, त्यत्तिञ्जेल इतिहासका धेरै पोथ्रा भने विस्मृतिको गर्तमा ओझेल परिसकेको थिए ।

इतिहासको वस्तुगत अध्ययन लागि राज्यले देखाएको उदासिनताकै कारण ऐतिहासिक अध्ययन अनुसन्धानमा राज्यको लगानी सधैं कमजोर रह्यो । इतिहासको अध्ययन, अनुसन्धान र अभिलेखीकरणको प्रक्रियालाई राज्यले सधैं सौताको व्यवहार ग¥यो । फलतः इतिहासका धेरै अध्यायहरु अझै भूमिगत अवस्थामा छन् । यो विषयमा सबभन्दा बढी भूमिका खेल्नसक्ने त्रिभुवन विश्वविद्यालयका विभाग र अनुसन्धान केन्द्रहरु आज झाराटार्ने कामसमेत प्रभावकारी ढङ्गले गर्न सकिरहेका छैनन् । प्राचीन इतिहास संरक्षणको मुख्य जिम्मेवारी बहन गर्दै आएको राष्ट्रिय अभिलेखालय आझै पनि परम्परागत शैलीको संरक्षण पद्धतिको कारण शङ्खेकीराको गतिमा हिँडिरहेको छ । अझै पनि संरक्षणका अत्याधुनिक प्रविधिको प्रयोग हुननसक्दा सुती कपडाका पोकाभित्रै इतिहास बन्द राखिएको छ ।

जग्गा जमिनको मनपरी बिक्री वितरण र सरकारी एवम् ऐतिहासिक महत्वको जमिनमा हिनामिना हुँदा इतिहास अध्ययनका धेरै सम्भावना त डोजरको पाङ्ग्राले नष्ट भएका छन् । सांस्कृतिक सम्पदा क्षेत्रमाथि नाफाखोरको लोभी आँखा पर्दा इतिहास र पुरातत्व अनुत्पादक क्षेत्रको बदनामी कमाउन बाध्य छ । नेपाल एसियाकै सबभन्दा पुरानो देशमध्ये गनिन्छ । नेपालमा मानव बस्ती कहिलेदेखि बस्न थाल्यो, त्यो अध्ययनकै विषय छ । तर, भूमिभित्र ती इतिहास कुनै न कुनै रुपमा अनुसन्धानको पर्खाइमा छ । त्यस्ता अध्ययनको निम्ति राज्यको सक्रियता र लगानी पुगेको छैन । त्रिविका सुक्दै गएका विभिन्न सम्बन्धित विभागले पनि यसको छनक दिइरहेको छ ।

देशमा गणतन्त्र स्थापना भयो । अब इतिहास कुनै शासकको घोडा नबन्नुपर्ने हो । इतिहासको वस्तुगत र वैज्ञानिक अध्ययनको निम्ति राज्यले लगानी र सक्रियता बढाउनुपर्ने हो । तर, अझै पनि इतिहास र प्राचीन अभिलेखको उत्खनन एवम् संरक्षणमा राज्यको ध्यान गएको छ्रैन । यो विषयका विज्ञहरु तयार गर्न राज्यले खासै ध्यान दिइरहेको छैन ।

इतिहास मेरको देशमा न वर्तमानले खुट्टा टेक्नसक्छ, न भविष्यले आँखा देख्नसक्छ । इतिहासको संरक्षण राज्यकै दायित्व हो । त्यसकारण प्राचीनकालीन, मध्यकालीन र आधुनिक नेपालका अनेकन अमूल्य ऐतिहासिक खोज अनुसन्धानको निम्ति राज्यले आँखा खोल्न जरुरी छ ।

स्रोतः मजदुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *