अतिक्रमणले सीमा नाघेपछि

  • पुष २५, २०७७

✍एल.के.सुन्दर
कविता

एका बिहानै
कुच्चिएको लोटा बोकी
बारीको पाटामा दौडनेहरु ।

अनि, गाउँमा
भैँसी डो¥याउने बाटो बनाउन
एक हात जग्गाको निम्ति
एकआपसमा काटाकाट गर्नेहरु ।

छिमेकीले राष्ट्रको अस्तित्वमाथि धावा बोलिरहन्दा
दुलो पसेर
राज्यको गिदी चपाउनेहरु
सहर पसेपछि
सहरमा बेग्लै किसिमको डर छाएको छ ।

सहरका आदिबासीहरुको
दुःखमाथि
दुःख थपिएको छ ।

भन्छन्
मठ्—मन्दिरले बाटो छेक्यो ।
र,
सदीयौँ पुरानो सांस्कृतिक वस्तीले
बाटो मिच्यो ।
समयको माग अनुसार
गाडी कुडाउन बाटो पुगेनन्
अरे ।
आदि इत्यादि ।

हुँदा हुँदा
छँदा खाँदाको स्वबासी उठाएर
निर्माण गरिरहेको
सार्वजनिक थलोमा समेत
दिनदहादै रोइलो गाएर
कोकोहोलो मच्चाएको देख्दा

अब,
त्यो दिन धेरै टाढा छैन ।
जताबाट मुन्टिएको हो
त्यतै साँधे धपाएझैँ
धपाउने बेला आएको छ ।

आफूजस्तो थियौ
त्यही हैसियत छ तिम्रो
र त्यही हैसियत देखाउँछौ ।
दासताका ती दिनहरु
तलुवा चाटेका ती दिनहरु
सायद त्यही तुष बाँकी भएर होला
तिमी मालिक बन्न खोज्दै छौ
इतिहासको न्वारान हुँदा
तिम्रो नामोनियशान थिएन
आज तिमी आफ्नो सभ्यता पढाउन खोज्दै छौ
हो तिमीले स्वतन्त्रताको लडाइँ लड्यौ
तर, स्वतन्त्रता के हो मेरो पुर्खालाई सोध
तिम्रो स्वतन्त्रता
मेरो लागि बन्धन हो
तिम्रो महानता
मेरो लागि सङ्कीर्णताको पिउसो हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *